Logo

श्रम स्वीकृति अनिश्चितकालका लागि बन्द, नेपाल आउनेले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने !

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । नेपाली श्रमिक कार्यरत देशमासमेत कोरोना भाइरसको जोखिम बढेपछि वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिश्चितकालका लागि श्रम स्वीकृति बन्द गरिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले बताउनुभयो ।

अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अर्थात वैशाख १२ गतेभन्दा अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने सरकारले निर्णय गरेको छ । विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको कोभिड – १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरेको थियो । नेपालको मुख्य श्रम गन्तव्य कतार, साउदी, मलेसिया, यूएई लगायतका देशमा पनि अहिले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । कोरोनाको सङ्क्रमण बढ्न नदिन भन्दै कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ ।

यस्तै कुवेतले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शैक्षिक संस्था बन्द गरेको छ भने आज शुक्रबार रातिदेखि कुवेतले सबै व्यवसायिक उडान पनि बन्द गर्दैछ । कुवेत सरकारले घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्न आफ्ना नागरिकलाई अनुरोध गरेको छ ।साउदीले पनि नेपालबाट हुने सिधा उडानबाहेक ट्रान्जिट हुँदै प्रवेशमा रोक लगाएको छ भने तीन वटा विमानस्थल मात्र खुल्ला गरेको छ ।

यूएईमा यसअघि नै दुई नेपाली श्रमिकको कोरोना भाइरसको संक्रमणको पुष्टि भइसकेको छ । सरकारले विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।यसैबीच नेपालले तेस्रो देशका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा शनिबारदेखि वैशाख १८ सम्मका लागि स्थगित गरेको छ ।

विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा पनि वैशाख १८ गतेसम्मका लागि यसअघि नै स्थगित गरेको छ भने भिसा लिइसकेका विदेशी नागरिकले नेपालको अध्यागमन आइपुग्नुभन्दा सात दिनअघिको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

यस्तै शनिबारदेखि स्वदेश फर्कने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्