Logo

बरामद रक्तचन्दन भारत फिर्ता लैजान ढिलाई !

नेपाल सरकारले मुुलुकभित्र बरामद गरिएकोमध्ये करिब पौने दुई लाख किलोग्राम रक्तचन्दन काठ ‘उत्पत्ति मुलुक’ भारत फिर्ता लैजान स्वीकृति दिए पनि फिर्ता लैजान ढिलाइ भएको छ । सरकारले गत पुस २८ गते मन्त्रिपरिषद् निर्णयबाट परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बन्धित अधिकारीलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम सो स्वीकृति दिएको थियोे ।

निर्णय भएको दुई महिना बढी समय बितिसक्दा पनि रक्त चन्दन फिर्ता लैजाने सम्बन्धमा भारतबाट ठोस पहल भएको नदेखिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । वन मन्त्रालयका अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत गत माघ २० गते नेपालस्थित भारतीय दूतावासका अधिकारीलाई टेलिफोन गरी सो निर्णयबारे जानकारी गराउनुभएको थियो ।

टेलिफोन वार्तामा रक्तचन्दन फिर्ता लैजाने प्रक्रियाका बारेमा समेत कुराकानी भएको वनमन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । नेपाल सरकारले कानूनी प्रक्रिया पूरा भएको जम्मा एक लाख ७३ हजार ७१ केजी रक्तचन्दन काठ जेजस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट आफ्नै खर्चमा ९० दिनभित्र उत्पत्ति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिएको हो ।

उक्त टेलिफोन वार्तामा दूतावासका अधिकारीले रक्तचन्दन फिर्ता लैजाने प्रक्रिया र फिर्ता लैजानुपर्ने अवधि (तीन महिना) कम हुने जिज्ञासा राख्नुभएको थियो । वन मन्त्रालयले भने फिर्ता लैजाने प्रक्रिया थालेपछि समय अपुग भएको खण्डमा केही सहयोग गर्न सकिने आश्वासन समेत दिएको थियो । दूतावासका अधिकारीले रक्तचन्दन फिर्ता लैजाने प्रक्रिया थाल्छौँ

भने पनि त्यसयता यस विषयमा खासै प्रगति भएको देखिँदैन । सो रक्तचन्दन विभिन्न समयमा अवैधरुपमा चीन लैजान खोज्दा बरामद भएको हो । बरामद रक्तचन्दन १२ वर्षदेखि काठमाडौँको बबरमहलस्थित वन विभाग, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, झापा, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० जिल्लामा सुरक्षासाथ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्