Logo

कालभैरवको यस्तो कालजन्य रौद्ररूप पछ्याउँदै जाँदा जसै यिनको मुखमा नजर पर्छ, तपाईं छक्क पर्नुहुन्छ !

नुमानढोका दरबारको मूल प्रांगणमा कालभैरवको विशाल मूर्ति धेरैले देख्नुभएको होला। काठमाडौं बाहिरका पाठकहरू, जसले हनुमानढोका घुम्नुभएको छैन, उहाँहरूले पनि कहीँ–कतै यसको तस्बिर त पक्कै देख्नुभएको छ। कालो वर्ण, रौद्ररूप र नौ हात अग्लो यो मूर्ति झट्ट हेर्दा निकै डरलाग्दो देखिन्छ। त्यसमाथि यसको शारीरिक हाउभाउ नै भयंकर।

घुँडा–घुँडासम्म मुण्डमाला भिरेर, भुइँमा उत्तानो परेका बेताललाई बेफिक्रीसाथ कुल्चेका कालभैरव देख्दा कसको मन सिरिंग नहोला ! कान, नाडी र पाउमा पहिरिएको सर्पको आभूषण हेर्नुस् न, कम्ता भयंकर छ!

यिनको त हातै छवटा — कुनै हातले खड्ग, ढाल, त्रिशूलजस्ता अस्त्रशस्त्र उठाएका छन्, कुनैमा भर्खरै वध गरिएका तीनवटा मान्छेको टाउको झुन्ड्याएका छन्, त्यो पनि कपाल समातेर। बीचको एउटा हात विन्दुमुद्रामा दर्शनार्थीहरूतिर फर्किएको छ।

शिरको मुकुटमा धरि चारवटा खप्पर र एउटा नरमुण्डको गहना भिरेका छन्। यी सबैभन्दा उग्र र डरलाग्दा छन्, यिनका ठूल्ठूला आँखा र आगोको लप्का उठेझैं देखिने राता आँखीभुइँ, जहाँ हेरिरह्यो भने ज्वालामुखी दन्केझैं लाग्छ।

कालभैरवको यस्तो कालजन्य रौद्ररूप पछ्याउँदै जाँदा जसै यिनको मुखमा नजर पर्छ, तपाईं छक्क पर्नुहुन्छ– भैरव त माथिल्लो लहरका सेता दाँत टिलिक्क टल्काएर मुसुमुसु हाँसी पो रहेका छन् !

प्रतिक्रिया दिनुहोस्