छठ पर्वमा जातीय विभेद र छुवाछुत नगर्न मन्त्रालयको आग्रह


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ।

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै छठ पर्वका क्रममा दलित समुदायका लागि छुट्टै छठ घाट निर्माण गर्ने वा गर्न लगाउनेजस्ता विभेदकारी कार्य नगर्न सम्बन्धित सबै पक्षलाई सचेत गराएको हो।

छठ पर्व धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भावको प्रतीक भएकाले यसले आपसी मेलमिलाप, बन्धुत्व र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने मन्त्रालयको विश्वास छ। त्यसैले जातजाति, वर्ग वा समुदायका आधारमा कुनै पनि प्रकारको विभेद हुने गतिविधि नगर्न मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले नेपालको संविधानको धारा १८ मा समानताको हक र धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको हक सुनिश्चित गरिएको स्मरण गराएको छ। साथै, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ अनुसार जातीय आधारमा छुवाछुत तथा भेदभाव गर्नु दण्डनीय अपराध रहेको पनि स्पष्ट पारेको छ।

सार्वजनिक स्थानमा प्रवेश निषेध गर्ने, जातीय आधारमा छुट्टाछुट्टै घाट निर्माण गर्ने वा कुनै समुदायलाई अलग्याउने कार्य संविधानको मर्म, समानताको सिद्धान्त र प्रचलित कानुनविपरीत हुने मन्त्रालयले जनाएको छ।

यस्ता विभेदकारी गतिविधि हुन नदिन स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।

सबै जातजाति, वर्ग, क्षेत्र र समुदायको समान अधिकार, आत्मसम्मान तथा समावेशी सहभागितासहितको समतामूलक समाज निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले छठ पर्वलाई सामाजिक सद्भाव, भाइचारा र समावेशी संस्कृतिको प्रवर्द्धन गर्ने अवसरका रूपमा मनाउनसमेत सबैमा आग्रह गरेको छ।