काठमाडौँ । ललितपुर महानगरपालिकाले लगनखेलस्थित न्हु पोखरीसँगै नयाँ सार्वजनिक पार्क निर्माण गरेको छ। स्विस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त पार्कको बिहीबार उद्घाटन गरिएको हो।
‘न्हु पुखु एभेन्यू’ नामकरण गरिएको पार्कको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र स्विस राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजले संयुक्त रूपमा गरेका हुन्। महानगरपालिकाका अनुसार यस पार्कलाई नेपाल र स्विट्जरल्यान्डबीचको अटुट मित्रताको प्रतीकका रूपमा लिइएको छ।
महानगरपालिकाका अनुसार पार्क निर्माणमा कुल दुई करोड २५ लाख रुपैयाँ खर्च भएको छ। वडा नम्बर ५ मा रहेको पार्कको क्षेत्रफल दुई रोपनी चार आना छ।
उद्घाटन समारोहमा नगर प्रमुख महर्जनले पार्क नेपाल र स्विट्जरल्यान्डका नागरिकबीचको सम्बन्धको प्रतीक भएको बताए। नेपाल र स्विट्जरल्यान्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा स्विस सरकारले पार्क निर्माणको प्रस्ताव गरेको र महानगरले त्यसलाई स्वीकार गरेको उनले जानकारी दिए।
पुराना तथा अनावश्यक संरचना हटाएर पार्क निर्माण गरिएको बताउँदै महर्जनले यसको संरक्षण र स्याहार महानगरपालिका तथा नगरवासीले आफ्नै सन्तानको जस्तै गरी गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले स्विस राष्ट्रिय परिषद्का अध्यक्ष पेजसहितको प्रतिनिधिमण्डललाई नेपाल भ्रमण दोहोर्याउन निम्तोसमेत दिए। ‘नेपाल एक पटक आएर पुग्दैन, फेरि आउनुस्। त्यतिबेला यहाँका अन्य पोखरीमा पनि पानी भरिभराउ हुनेछन्, रातमा जुनकिरी आउनेछन्,’ उनले भने।
स्विस राष्ट्रिय परिषद्का अध्यक्ष पेजले पार्क निर्माणमा सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै ललितपुर महानगरपालिकालाई धन्यवाद दिए। नेपाल र स्विट्जरल्यान्ड दुवै हिमाल भएको देश भएको उल्लेख गर्दै उनले यस पार्कले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
उनले नेपालमा पानीले भरिएको पोखरी हेर्न पुनः आउने इच्छासमेत व्यक्त गरे।

















प्रतिक्रिया