चार प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी आज बाँडियो


काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ। प्रस्तावित न्यायाधीशहरूविरुद्ध परेका १३ वटा उजुरी संसदीय सुनुवाइ समितिका सदस्यहरूलाई वितरण गरिएको छ।

समितिका सदस्य आनन्द ढुङ्गानाका अनुसार शुक्रबार बिहान ९ः३० बजेदेखि उजुरीकर्तासँग छलफल गर्ने तयारी गरिएको छ। उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइको मिति तय गरिने उनले रातोपाटीलाई जानकारी दिएका छन्।

न्यायपरिषद्ले रत्नबहादुर वाग्चन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो। उनीहरूविरुद्ध विभिन्न विषयमा १३ वटा उजुरी परेका छन्।

संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरी उजुरीमा उठाइएका विषयहरूको अध्ययन गर्नेछ। त्यसपछि प्रस्तावित चारै जना न्यायाधीशको सुनुवाइ प्रक्रिया अघि बढाइनेछ।

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्रै प्रस्तावित व्यक्तिहरू सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुन सक्नेछन्।