पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको गलेश्वरधाममा ८ महिनामा करिब २२ लाख रुपैयाँ भेटी सङ्कलन !
पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको गलेश्वरधाममा आठ महिनाको अवधिमा करिब रु २२ लाख भेटी सङ्कलन भएको छ। मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरधाममा गत साउनदेखि फागुन मसान्तसम्मको आठ महिनामा रु २१ लाख ८२ हजार ६०७ भेटी सङ्कलन भएको गलेश्वर क्षेत्र विकास कोषले जनाएको छ।
गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनका अनुसार धार्मिक पर्यटनको आकर्षक तीर्थस्थलको रुपमा विकसित हुँदै गरेको गलेश्वर मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, चितवन, कास्की, तनहुँ, काठमाडौँ, झापा, सुनसरीबाट दर्शनार्थी तथा तीर्थयात्री आउने गरेका छन्। अहिले पनि दैनिकजसो म्याग्दीसहित विभिन्न जिल्लाबाट २०० देखि ३०० को हाराहारीमा दर्शनार्थी आउने गरेका छन्।
गत आर्थिक वर्षमा गलेश्वरधाममा वन कार्यालयको रु आठ लाख र कोषको दुई लाख लगानीमा बहुउद्देश्य पार्क निर्माण, रु एक लाख ७४ हजारको लगानीमा आठ वटा सिसी क्यामरा र बाहिरबाट दर्शन र मन्दिरको बारेमा जानकारी लिनको लागि कोषले गलेश्वर डट कम नामको बेवसाइटसमेत बनाईएको जनाईएको छ। गलेश्वरमा जति पनि भौतिक निमार्णका कार्य भइरहेका छन् ती धेरैजसो भक्तजनले दान गरेको भेटीबाटै भएको छ।