Logo

गोदाममा राखियो प्रहरीले नियन्त्रणमा लिएको २ लाख ५० हजार मास्क !

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना संक्रमणका वेला मास्कको कृतिम अभाव सिर्जना गर्नेविरुद्ध प्रहरीले अपरेशन चलाइरहेको छ । शनिबार यता दुईवटा गोदाममा छापा मारेर प्रहरीले अढाइ लाख मास्क बरामद गरिसकेको छ ।बजारमा मास्कको चरम अभाव भएका बेला प्रहरीले ठूलो परिणाममा मास्क बरामद गरेपछि आम मानिसमा खुसी छाएको थियो । ती मास्क अब जनताले प्रयोग गर्न पाउने धेरै मानिसहरुले ठानेका थिए । र, बजारमा अब मास्कको अभाव नहुने सर्वसाधारणको अनुमान थियो

तर, बजारमा मास्कको चरम अभाव भइरहेका बेला प्रहरीले बरामद गरेको अढाइ लाख मास्क गोदाममा शिलबन्दी गरेर थन्क्याइएको छ । मास्कको यकीन गणनासमेत गरिएको छैन ।आगामी तीन महिनासम्म मास्क गोदाममै रहने सरकारी अधिकारीहरुले जनाऊ दिएका छन् ।काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटी भन्छन्, ‘कानुनी प्रक्रिया पूरा नभएसम्म बरामद सामग्री हामीसँगै रहन्छ ।’

शनिबार डल्लुबाट ७८ हजार माक्ससहित पक्राउ परेका ७ जनाविरुद्ध प्रहरीले कालोबजारी तथा सामाजिक अपराध ऐन, २०३२ अनुसार कारबाही प्रक्रिया अघि बढाएको छ ।कानूनी प्रक्रिया कहिलेसम्म सकिन्छ भन्ने प्रमुख जिल्ला अधिकारीको निर्णयमा भर पर्छ । किनकि, कालोबजारी सम्बन्धी कसूर हेर्ने अधिकार प्रमुख जिल्ला अधिकारीसँग छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल सामान्यतयाः तीन महिनाभित्र प्रशासनबाट मुद्दा प्रक्रियाको टुंगो लाग्ने बताउँछन् । मुद्दा टुंगो नलागेसम्म बरामद मास्क जफत नै रहने उनले बताए ।प्रक्रिया टुंगो लागिसकेपछि जफत गरिएको वस्तुको नेपाल सरकारबाट विक्री हुन सक्ने कालोबजारी ऐनमा उल्लेख छ । यदि कृत्रिम अभाव सिर्जना गरेको पुष्टि भए एक वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजायँ हुन सक्ने व्यवस्था छ ।

अनुसन्धानका लागि ७ दिन म्याद
यसैवीच जिल्ला प्रशासन कार्यालय, काठमाडौंले डल्लुमा पक्राउ परेकामाथि अनुसन्धानका लागि आइतबार ७ दिन म्याद दिएको छ । डल्लुबाट ८ जना पक्राउ परेको भए पनि एकजनाको संलग्नता नदेखिएको भन्दै छाडिएको छ ।आइतबार कपनमा चलाइएको अपरेशनमा एक लाख ६८ हजार मास्क बरामद भएका छन् । साथै, प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

म्याद थप गरेपछि मात्रै उनीहरुको नाम सार्वजनिक गर्ने प्रहरी तयारी छ । कपनको अपरेशनबाट प्राप्त सूचना अनुसार प्रहरीले सतुंगलमा रहेको आरडीजी सप्लायर्समा पनि शिलबन्दी गरेको छ । तर, रात परिसकेकाले कति मास्क छन् भन्ने गणना भइसकेको छैन ।महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी ३ रुपैयाँमा खरिद गरेर ४० रुपैयाँसम्ममा माक्स विक्री गरेको गुनासो आधारमा विशेष अपरेशन चलाइएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्