Logo

चितवनको प्रदर्शनी केन्द्रलाई ७२ घण्टा भित्र ‘कोरोना विशेष अस्पताल बनाउने !

चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रलाई अस्थायी रुपमा कोरोना विशेष अस्पताल बनाइने भएको छ । भरतपुर महानगरपालिका र चितवन उद्योग संघको संयुक्त आयोजनामा आज विहान भएको छलफलले प्रदर्शनी केन्द्रलाई कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको हो ।छलफलले ७२ घण्टा भित्रमै कोरोना विशेष अस्पताल बनाई सक्ने निर्णय गरेको छ ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले कोरोना संक्रमणको संभावित अवस्थालाई मध्यनजर गर्दै कोरोना विशेष अस्पताल बनाउने निर्णय गरिएको नारायणी अनलाइनलाई जानकारी दिइन् । मेयर दाहालले भनिन्–‘ओपीडिसहितको कोरोना विशेष अस्पताल बनाइने छ, यसले अन्य क्षेत्रमा संक्रमण कम गराउन सक्छ ।

’मेयर दाहालले प्रदर्शनी केन्द्रमा तीन वटा ठूला हलहरु निर्माण भइसकेकाले अब प्राविधिक कार्यहरु जडान गर्न मात्र बाँकी रहेको बताइन् । ‘कोरोना विशेष अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको छ, ७२ घण्टा भित्र अस्पताल तयार हुन्छ’–मेयर दाहालले नारायणी अनलाइनसंग भनिन् ।अस्थायी रुपमा निर्माण गर्न लागिएको अस्पतालमा ७० बेड क्षमता हुनेछ ।

जसमा ५० बेड जनरल, १० बेड सघ कक्ष (आइसियु) र १० बेड (एचडियु)को रहने भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए ।उनले स्थान छनौट भइसकेकाले भोलि (बुधबार)बाट नै उपकरणहरु जडान गरिने जानकारी दिए । उपकरणका लागि चितवनका अस्पतालहरुले केही सहयोग गर्नेछ भने प्रदेश सरकारबाट समेत बजेट माग गरिने डा.अधिकारीले बताए ।

उनले महानगरसंगै सबै संघसंस्थाहरुको सहयोगमा अस्पताल निर्माण गर्न लागिएको बताए । डा.अधिकारीले चितवनमा कोरोना शंकास्पद सबै बिरामीलाई सोही अस्पतालमा राखेर उपचार गरिने बताए । ‘यो रिफरल अस्पताल जस्तै बन्नेछ, चितवन देशकै मध्यभागमा भएकाले धेरै स्थानबाट बिरामी आउने सक्ने अवस्थालाई मध्यनजर गरी यसलाई तयार पारिने छ’

प्रतिक्रिया दिनुहोस्