Logo

जापान, कोरिया, खाडी र युरोप गएका नेपाली अप्रिल १५ सम्म घर आउन नपाउने

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन कडा कदमहरू चालेको छ।

उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बुधबार बसेको कोभिड-१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले हवाइ मार्गबाट नेपाल आउने लगभग सबै यात्रुलाई प्रतिबन्ध लगाएको छ।

‘युरोपका सबै मुलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू,इरान, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० मध्य रातदेखि लागू हुने गरी १५ अप्रिल २०२० सम्मका आगमनमा प्रतिबन्ध लगाउने,’ निर्णयमा भनिएको छ।

उक्त निर्णयअनुसार ती मुलुकबाट कुनै पनि यात्रु नेपाल आउन नपाउने भएका छन्।

‘सबै यात्रु भनेपछि नेपालीहरू पनि परिहाल्नु भयो नि,’ पर्यटन मन्त्री योगेश भट्टराईले सेतोपाटीसँग भने।

दक्षिण कोरिया, जापान, मलेसिया, युएई, कतारलगायतका मुलुकमा धेरै नै नेपाली वैदेशिक रोजगारीका लागि गएका छन्।

निर्णयअनुसार अमेरिका, अष्ट्रेलियामा रहेका नेपाली सिंगापुर वा बैंकक ट्रान्जिट भएर आउन सक्ने देखिएको छ। तर सरकारले यसबारे स्पष्ट रूपमा भनेको छैन।

स्कुल र क्याम्पस बन्द

साथै, चैत ६ गते बिहीबारदेखि सञ्चालन हुने एसइई परीक्षा नरोकिने समेत जानकारी दिइएको छ।

समितिले परीक्षालाई व्यवस्थित बनाउनका लागि सबै केन्द्रहरूमा हेल्थ डेस्क स्थापना गराउन निर्देशन समेत दिएको छ।

‘चैत ६ गते बिहीबारदेखि सञ्चालन हुने एसइई परीक्षाका प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्ने’ निर्णयमा उल्लेख गरिएको छ,’तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरू र विश्वविद्यालयहरूका पठनपाठन चैत मसान्तसम्मका लागि बन्द गर्ने।’

सार्वजनिक सवारीमा बढी यात्रु बोक्न नपाइने

सार्वजनिक सवारी साधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसारप्रसार गर्न नपाइने भएको छ।

कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सिट क्षमताभन्दा बढी यात्रु ओसारप्रसार नगर्न तथा नगराउन यातायात व्यवसायीलाई अनुरोध गरेको हो।

सरकारले सर्वसाधारण नागरिकलाई भीडभाड गरी यात्रा नगर्न अनुरोध पनि गरेको छ।

साथै सार्वजनिक यातायातमा सवारी धनीलाई यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा डिस इन्फेक्सन गर्न निर्देशन दिएको छ। यसको अनुगमन यातायात व्यवस्था विभाग र नेपाल प्रहरीले गर्नेछ।

अप्रिल ३० सम्म फिल्म हलदेखि जिमसम्म बन्द

सरकारले कोरोना भाइरस फैलिन नपाओस् भनेर फिल्म हलदेखि जिमखानालगायत मनोरन्जनस्थल बन्द गर्ने निर्णय गरेको छ।

‘सिनेमा हल, साँस्कृतिक केन्द्रहरू, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने। यसको अनुगमन गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने’ निर्णयमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्