Logo

कोरोना भाइरसविरुद्ध खोपको पहिलो मानव परीक्षण अमेरिकामा सुरू हुँदै

एजेन्सी, ३ चैत – विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (काेभिड- १९) ले जनमानसमा त्रास फैलाइरहँदा अमेरिकामा भने यसविरूद्धकाे खोपकाे परीक्षण गरिन लागेको छ ।

प्राणघातक कोरोनाको सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप (भ्याक्सिन) अमेरिकाले पहिलोपटक मानवमा परीक्षण सुरु गर्न लागेको हो ।

अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन् । खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमबार (आज) हुने बिबिसीले जनाएको छ ।

सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा पहिलाेपटक मानवमा परीक्षण हुन लागेको साे खाेपकाे नाम mRNA-1273 राखिएकाे छ ।

तर ती स्वयंसेवीहरू आफू भने कोरोना भाइरसका सङ्क्रमित नरहेको बताइएको छ । उनीहरुले परीक्षणका लागि खोपका विभिन्न मात्रा लिनेछन् । जुन खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश नरहेको तथा त्यसमा मेसिन्जर ‘आरएनए’को सानो भाग भएको बताइएको छ ।

पहिलो चरण परीक्षण हुन लागेको यस खोपमार्फत शरीरको प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुने बताइएको छ । परीक्षण गरिन लागेकाे खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटिन उत्पादन गर्न सक्रिय बनाउने याेजनाअनुसरा यसमा अनुसन्धानरत वैज्ञानिकहरू निरन्तर खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्