पूर्वमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले राजधानीका विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको बताएपनि उनीहरुको पहिचान भने खुलाएको छैन । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई अहिले साँझ पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेकाले शुक्रबार दिउसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । गत फागुन २८ गते पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट भएको थियो ।
सोही दिन विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले देवी बहादुर गुरुङलाई पक्राउ गरेको थियो । उनी विप्लव समूहको भक्तपुर जिल्ला सदस्य रहेको प्रहरीले जनाएको थियो ।
विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको सहित १० कारणले घरमा बम हान्नु परेको जनाएको थियो । पूर्वमन्त्री बाँस्कोटाको घरको भुइँ तलामा बम बिस्फोट हुँदा बिस्फोटबाट एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको थियो।
प्रतिक्रिया