Logo

प्रदेश २ मा चुनावमा जस्तै सीमा सिल

खुला सीमाका कारण नेपाललाई पनि कोरोनाको प्रभाव पर्न सक्ने भन्दै प्रदेश २ का सुरक्षा अधिकारीहरुले सीमामा ‘लकडाउन’ जतिकै सर्तकता अपनाएको छ । निर्वाचनका बेला गरिने सीमा सिलकै अवस्थामा सुरक्षाकर्मीको तैनाथी गरिएको छ ।

प्रदेश २ का ८ वटै जिल्ला भारतीय सीमासँग टाँसिएको छ। भारतीय सीमा क्षेत्रसँग प्रदेश २ को ४ सय ६४ किलोमिटर सीमा जोडिएको छ। प्रदेश २ का ८ वटै जिल्लाबाट भारतका विभिन्न प्रान्त र खाडी मुलुकमा काम गर्नेको संख्या ठूलो छ।सुरक्षा अधिकारीहरुको अनुमान अनुसार समान्य अवस्थामा प्रदेश २ को एउटा सीमा क्षेत्रबाट दैनिक २ हजार व्यक्ति नेपाल–भारत ओहरदोहर गर्छन्। अहिले निश्चित नाकाबाट मात्र स्वास्थ्य जाँच गरेर ओहरदोहर गर्न दिइएको छ। तर,आइतबार भारतमा जनता कर्फ्यू रहेकाले खुल्ला गरिएको नाका पनि सुनसान छ।

भारतीय सुरक्षा अधिकारी (काउन्टर पार्ट)सँग समन्वय गरेपछि प्रदेश २ का ८ वटै जिल्लाका सुरक्षा समितिले सीमा क्षेत्रमा ‘आउजाउ’ ठप्प पार्ने निर्णय गरेको छ। दुवै देशका सुरक्षाकर्मीले शनिबार नै अपरान्हदेखि अति आवश्यक काम बाहेक सीमाबाट ओहरदोहर गर्न रोक लगाएको छ।‘चुनावको बेला गरिने बोर्डर सिलकै जस्तो रणनीति अपनाइएको छ,’ प्रदेश २ का सशस्त्र प्रहरीका डिआईजी राजु अर्यालले भने,‘आउजाउलाई ठप्प पारिएको छ।’ डीआईजी अर्यालले लगभग ‘लक डाउन’कै स्थिती रहेको बताए।

प्रदेश २ मा ३९ वटा भन्सार नाका छन्। कोरोनाको जोखिमसँगै सीमा क्षेत्रका ७५ ठाउँमा हेल्प डेस्क र प्रहरीको चेक प्वाइन्ट थपिएको छ। ‘सीमा क्षेत्रबाट कोरोनाका संक्रमित र आशंकित व्यक्ति भेटिएका छैनन्,’ प्रदेश २ का नेपाल प्रहरीका डीआईजी प्रधुम्न कार्कीले भने,‘प्रहरीको पोष्ट रहेका सबै सीमा क्षेत्रमा आउजाउ रोकिएको छ।’

प्रदेश २ का सुरक्षाअधिकारीहरुले आफ्ना काउन्टर पार्टसंग समन्वय गरेर शनिबारदेखि सीमामा हुने गतिविधिलाई न्यून गरेको छ। डीआईजी कार्कीले सबै सीमा नाकामा कडाइ गरिएको र संयुक्त हेल्प डेस्क समेत राखिएको छ बताए।सुरक्षाकर्मीको कमान्डमा रहेको हेल्प डेस्कमा स्वास्थ्यकर्मी पनि खटिएका छन्। अति आवश्यक कामले आउजाउ गर्नेको तापक्रम बढी देखिए तुरुन्तै अस्पतालमा लैजान डेस्क नजिकै एम्बुलेन्स राखिएको छ।

‘तापक्रम बढी देखिनेलाई तुरुन्तै अस्पतालमा लगेर जाँच गर्ने र आइसोलेशनमा राख्ने प्रबन्ध मिलाइएको छ,’ डिआईजी कार्कीले भने, ‘भारतीय नागरिक छ भन्ने काउन्टर पार्टलाई खबर गर्ने निर्देशन पनि दिइएको छ।’नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा नाकाका कडाइसँगै कोरोना भाइरस संक्रमणबाट बच्ने उपाय र अपनाउनुपर्ने सावधानीबारे शनिबारदेखि माइकिङ समेत थालेको छ।

प्रतिक्रिया दिनुहोस्