Logo

वीरगन्जका बिरामीमा कोरोना भेटिएन, सांसद र सिडिओले नै फैलाए अफवाह !

कोरोना भाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ । त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि दिएको छ । तर, जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतबार देशभर त्रास फैलियो । वीरगन्जका व्यवसायी शिवकुमार रुंगटामा कोरोनाको संक्रमण देखिएको भन्दै आइतबार सांसद प्रदीप यादवले सामाजिक सञ्जालमा लेखेपछि देशभर सनसनी मच्चियो । पर्साका सिडिओ विष्णुकुमार कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतले समेत रुंगटालाई कोरोना पोजेटिभ देखिएको भनेर मिडियालाई प्रतिक्रिया दिएपछि सिंगो देश आतंकित बनेको हो ।

खासमा व्यवसायी रुंगटालाई संक्रमण भएको आशंकामा परीक्षण मात्र गरिएको थियो । उनलाई संक्रमण नभएको रिपोर्ट अस्पतालले दिएको थियो । पटना अस्पतालमा उपचाररत उनमा संक्रमण नभएको रिपोर्ट आएको रुंगटाका आफन्त तथा पूर्वसांसद अनिल रुंगटाले बताए । ‘उहाँलाई ज्वरो आएको हो, यस्तो वेलामा ज्वरो आउँदा स्वाभाविक रूपमा कोरोना टेस्ट हुन्छ, तर उहाँको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘पटनास्थित मेडिकल कलेजमा उहाँको उपचार भइरहेको छ ।’

सिडिओ कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतले हल्लाकै भरमा रुंगटामा संक्रमण देखिएको प्रतिक्रिया मात्रै दिएनन्, उनको परिवारका सदस्यलाई क्वारेन्टाइनमा राख्न घरमा सुरक्षाकर्मीसमेत पठाएका थिए ।

उनले लेखेका थिए, ‘भारत, बिहार पटनाको पिएमसिएच अस्पतालमा भर्ती भएका वीरगन्जनिवासी ७६ वर्षीय शिवकुमार रंगटाको कोरोना (कोभिड–१९) पुष्टि भएको खबर छ । वीरगन्ज आदर्शनगरका शिवकुमार रंगटा खदान व्यवसायी हुन् ।’ तर, आफूले लेखेको खबर गलत साबित भएपछि यादवले स्टाटस मेटेका छन् । यसरी अफवाह फैलाउने सांसद र अधिकारीलाई कारबाही गर्ने दबाब सरकारमाथि परेको छ ।

प्रतिक्रिया दिनुहोस्