Logo

१० बजेदेखि नाका बन्द हुने भएपछि नेपाल भित्रिनेको ओइरो ! सेयर गरौ

सरकारले छिमेकी मुलुकसँगको सीमा नाका सोमबार १० बजेदेखि बन्द गर्ने भएपछि वीरगञ्जस्थित नेपाल–भारत सीमा नाकामा भारतबाट नेपाल आउनेहरुको ओइरो लागेको छ । बिहानैदेखि सयौँको सङ्ख्यामा नेपालीहरु भारतबाट स्वदेश फर्किएका हुन् ।

१० बजेदेखि नाका पूर्ण रुपमा बन्द हुने भए पनि बिहानै नेपालतर्फ आएकाहरुलाई समेत आवश्यक स्वास्थ्य परीक्षण गरी भित्रिन दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले रातोपाटीलाई जानकारी दिए । ‘नाकाबाट आउनेको भीड छ,’ उनले भने, ‘तर हामीले सबैलाई स्वास्थ्य परीक्षण, आवश्यक सोधपुछ गरेरमात्र प्रवेश गर्न दिएका छौँ ।’ भित्रिएका सबैको परिचयसहितको रेकर्ड राखिएको पनि उनले बताए ।

भारतीय नागरिकलाई भने नेपाल प्रवेशमा रोक लगाइएको उनले बताए । ‘अहिले भारतबाट आएका नेपालीहरुलाई मात्र नेपाल प्रवेश गर्न दिइएको छ,’ उनले भने, ‘भारतीय नागरिकलाई प्रवेश दिइएको छैन ।’ शंकास्पद बिरामीलाई क्वारेन्टाइनमा पठाउने व्यवस्था मिलाइएको उनको भनाइ छ । उनका अनुसार वीरगञ्जस्थित आयुर्वेद अस्पतालमा क्वारेन्टाइनको व्यवस्था मिलाइएको छ ।

हाल क्वारेन्टाइनमा ७ जना रहेको पनि उनले बताए । ‘आइतबारसम्म कुल ६८ जनालाई राखेका थियौँ,’ उनले भने, ‘शंकास्पद देखिएका सात जना अहिले पनि क्वारेन्टाइनमा छन्, बाँकीलाई घरमै सुरक्षित रुपमा बस्ने शर्तसहित आफन्तको जिम्मा लगाएर पठाइएको छ ।’

प्रतिक्रिया दिनुहोस्