Logo

प्रदेश नम्बर २: मुख्य शहरमा अति आवश्यक सेवाबाहेक सबै बन्द

कोरोना भाइरस संक्रमणबाट बच्न प्रदेश नम्बर २ को राजधानीसहित अधिकांश बजार क्षेत्र बन्द गर्ने निर्णय भएको छ । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम, मुख्य व्यापारिक केन्द्र वीरगञ्ज, महोत्तरीको बर्दिवास, गौशाला बजार, सप्तरीको राजविराज, जलेश्वर लगायतका बजारहरुमा अति आवश्यक सेवा बाहेक अधिकांश क्षेत्र बन्द गरिएको हो ।

कोरोना संक्रमण भित्रिन नदिनका लागि कतिपय बजारमा आइतबारदेखि नै व्यापारिहरुले बन्द गरेका छन् भने भोलिदेखि जनकपुरधाम बजारसमेत बन्द रहने धनुषा चेम्बर कमर्सका अध्यक्ष विजय साहले जानकारी दिए ।
त्यस्तै जनकपुर उद्योग वाणिज्य संघको सोमबार बसेको बैठकले मंगलबारदेखि चैत १६ गतेसम्म अति आवश्यक बाहेक सम्पूर्ण व्यवसायिक प्रतिष्ठानहरु बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै वीरगञ्ज महानगरपालिकाले सोमबार एक विज्ञप्ति जारी गर्दै अति आवश्यक सेवाबाहेक सबै सेवा र बजारहरु बन्द रहने जनाएको छ ।भारतको बिहार प्रान्तको राजधानी पटनामा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएपछि जनकपुरधामसहितका क्षेत्रमा त्रास उत्पन्न भएको छ । संक्रमणको त्रासका कारण जनकपुरधाम लगायतका बजार क्षेत्रमा सर्वसाधारणको चहलपहलमा समेत निकै कमी आएको छ भने स्थानीय रुटमा चल्ने छोटो दुरीका सवारीसाधनहरु समेत न्यून संख्यामा गुडिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्