Logo

प्रदेश २ मा २५० आइसोलेसन वेड तयार, थप बेडका लागि गृहकार्य जारी

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण विरुद्धको लडाईका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको बताएका छन् । मंगलबार मुख्यमन्त्री राउतले पुनः एक अपिल जारी गर्दै महामारीविरुद्ध लड्न संघीय सरकारले जारी गरेको निर्देशनप्रति प्रदेश सरकारको पूर्ण समर्थन रहेको भन्दै प्रदेशवासीलाई समेत संघीय सरकारको निर्देशन अक्षरशः पालना गर्न आग्रह समेत गरेका छन् ।

उनले जारी गरेको अपिलमा स्थानीय तह, प्रदेश र संघीय सरकारको सरकार र सर्वसाधारणको एकता नै महामारी विरुद्धको बलियो हतियार रहेको जनाउदँै लक डाउनलाई पुर्णतः समर्थन गर्न प्रदेशवासीलाई आग्रह गरेका छन् ।उनले महामारी विरुद्ध लड्न प्रदेश सरकारले गत साता देखि नै आफ्नो पूर्व तैयारीहरु सुरु गरिसकेकाले यस महाविपतको घडीमा कसैलाई नआत्तिन समेत सुझाव दिएका छन् ।

उनले महामारी विरुद्धको पूर्व तैयारीको लागि प्रदेशमा २ सय ५० आइसोलेशन बेड तयारी अवस्थामा रहेको र थप आइसोलेशन बेडको लागि गृह कार्य भइरहेको अपिल मार्फत जनाएका छन् ।

महामारीकोे हल्ला सुनिए लगत्तै प्रदेश सरकार पूर्व तयारीका लागि विपद व्यवपस्थापन कोष मार्फत प्रत्येक जिल्लाका विपद व्यस्थापन कोषलाई ५०÷५० लाख रुपैयाँ दिएको स्पष्ट पारेका छन् । मुख्यमन्त्री राउतले नेपाल प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख, सशस्त्र प्रहरी प्रादेशिक कार्यालयलाई २० लाख, राष्ट्रिय अनुसन्धान

आयोग प्रादेशिक कार्यालयलाई ५ लाख रुपैयाँ उपलब्ध गराई सकेको छ भने महामारी विरुद्धको लड्न थप प्रभावकारी बनाउदैँ समाजिक विकास मन्त्रालय मार्फत कोरोना सम्बन्धि क्रिटिकल केयरका लागि प्रादेशिक अस्पताललाई १२ लाख, जिल्ला अस्पतालहरुलाई ५÷५ लाख, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रलाई औषधी र पर्सनल केयर इक्युपमेन्टको लागि १० लाख,

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई ५ लाख, जनचेतना मुलक प्रचार प्रसारको लागि स्वास्थ्य निर्देशनालयलार्ई ५ लाख, मन्त्रालय मार्फत नीतिगत खर्चका लागि १० लाख, सरोकारबलालाई सचेतना मुलक अभियानका लागि १५ लाख, स्थानीय तह स्वास्थ्य संयोजकहरुको अभिमुखीकरणको लागि १० लाख, एकीकृत अनुगमनको लागि ५ लाख, रेफ्रल एम्बुलेन्स सेवाका लागि ३ लाख रुपैयाँ छुट्याइएको जानकारी जारी अपिलमा उल्लेख छ ।

उनले यस अतिरिक्त महामारी नियन्त्रणका लागि थप रकमको आवश्यकता परे प्रदेश सरकार तैयारी अवस्थामा रहेको समेत जनाएका छन् ।
मुख्यमन्त्री राउतले प्रदेश सरकार कोरोनाको महामारीसंग लड्न विभिन्न तैयारीहरु गरे पनि इक्युपमेन्टहरुको अभाव झेली रहेको अवस्थामा यस महामारी विरुद्धको प्रादेशिक तयारीलाई थप प्रभावकारी बनाउन आवश्यक प्रोफेशनल प्रोटेक्टीभ इक्युपमेन्ट, एन ९५ मास्क , थर्मल गन र भेन्टिलरको व्यवस्था मिलाईदिन संघीय सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्