Logo

आफ्नो छोरालाई क्वारेन्टाइनमा राखेको भन्दै स्वास्थ्यकर्मीमाथि नै कुटपिट !

बैतडीमा स्थानीय सरकारले स्थापना गरेको क्वारेन्टाइनमै एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । पुर्चौडी नगरपालिकास्थित कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि क्वारेन्टाइनमै कुटपिट भएको हो । पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेपछि अहेब धामीमाथि कुटपिट भएको जानकारी दिए ।

आफ्नो छोरालाई क्वारेन्टाइनमा किन राखेको भन्दै स्थानीय नरेन्द्र जागरीले स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् । नरेन्द्रका छोरा सुनिलसहित पुर्चौडीका ७ जना बुधबार राति घर फर्किएका थिए । उनीहरुलाई नगरपालिका–५ कुवाकोटको भूमिराज माविको क्वारेन्टाइनमा राखिएको बेला जागिरीले साढे १० बजे ड्यूटीमा खटिएका अहेब धामीमाथि गालीगलौज गर्दै कुटपिट गरेका हुन् ।

सातै जनालाई स्वास्थ्यकर्मीले सुरक्षित क्वारेन्टाइनमा राखेका थिए । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले क्वारेन्टाइनमा बसालेपछि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि नै कुटिपिट गरे ।

कुटपिटबाट घाइते भएका अहेब धामीको छाती र हातमा चोट लागेको छ । अहिले उनको उपचार भइरहेको छ । हातपात गर्ने जागरीलाई बिहीबार नियन्त्रणमा लिइएको बैतडीका प्रहरी कार्यलयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्