Logo

छैनन् मर्दाका मलामी, छन् लास तर सुनसान छ आर्यघाट

बिहीबार पनि दिनभर काठमाडौंमा माइकिङ गरिएको छ । ‘घरबाहिर ननिस्कनु होला’ भनेर प्रहरी प्रशासनले पटक-पटक आम सर्वसाधरणलाई बाहिर ननिसक्न अपिल गरेको छ ।

प्रशासनको अपिल एक हदसम्म सर्वसाधरणले स्वीकार गरेका छन् । जनताको सुरक्षाका लागि नै प्रहरी प्रशासनले निरन्तर माइकिङ गरिरहेको हो । बाहिर ननिस्कन अपिल गरेको हो ।

सरकारले सभा, सम्मेलन तथा भीडभाड नगर्न आह्वान गरेको १ महिना पुगेको छ । सभा, सम्मेलन तथा सेमिनार मात्र होइन, धार्मिक तथा अन्य सामाजिक कार्यहरू पनि रोकिएका छन् । लकडाउनपछि सडक सुनसान छ ।

कार्यतालिकामा राख्ने कार्यक्रम रोकिएका छन् । तर, जान लागेको सास रोक्न सकिने कुरा भएन । घटेको छैन मृत्युदर तर घटेका छन् मलामी ।

नेपाली समाज सुख, दु:खको समयमा धेरै साथ खोज्ने गर्छ । त्यसैले त भनिन्छ, ‘ज्युँदाको जन्ती र मर्दाको मलामी ।’ अन्य कुनै समय काम नलागे पनि समाज यो समयमा काम लाग्छ भनिन्छ । तर, कोरोनाको कहर यति बढ्याे कि मर्दाका मलामी पनि पाइन छाडेकाे छ । शववाहनबाट घाटसम्म लास पुर्‍याउने मान्छे छैन ।

बिहीबार त्यस्तै देखियो आर्यघाटमा । काभ्रे पाँचखालका ७४ वर्षीय लीलानाथ तिमिल्सिनाको केएमसी हस्पिटल सिनामंगलमा मृत्यु भयाे । २ जना शववाहनमा बसेर लास लिएर आर्यघाट आए । शववाहनबाट लास झारेर फर्किन चालक हतार गरिरहेका थिए । तर, तत्काल लास झार्ने मान्छे थिएनन् ।

‘शव आफैँ बोक्नुहुन्छ होला उहाँहरू थोरै हुनुहुन्छ’, चालकले भने । अनि केही समयपछि शव झारियो ।

‘अरू बेला जस्तो भएन, अहिले न कसैलाई बोलाउने न बोलाएर कोही आउने कस्तो समस्या’, तिमिल्सिनाकी साली पर्ने गायत्री गौतमले भनिन् । उनको मात्र होइन, २ जना परिवारका सदस्यले मात्र पनि दाह संस्कार गरिएको थियो बिहीबार पशुपतिमा ।

सामान्य अवस्थामा जस्तै दिउँसो ४ बजेसम्म चितामा जलाउनेतर्फ १३ वटा शव दर्ता भएका थिए । तर, सबै लास ल्याउने क्रममा बढीमा ५-७ जनाभन्दा बढी मलामी नआएको लास जलाउँदै गरेका एक व्यक्तिले बताए । २ जना मात्रले पनि लास जलाएर गएकाे उनकाे भनाइ छ ।

चितामा जलाउनेभन्दा विद्युत गृहमा जलाउने बढी छन् । बिहीबार ४ बजेसम्म १० जना भए पनि बुधबार भने १५ लास विद्युत गृहमा जलाइएको थियो । विद्युत गृहमा पनि ७ जनाभन्दा बढी नआउन लागि सूचना टाँस गरेको छ ।

कोरोनाको संक्रमणको फैलावट हुन नदिन सिंगाे देश लागिरहेको बेला कतिपय यस्ता कार्यमा भने अस्वाभाविक समस्या देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्