Logo

धनगढीका कोरोना संक्रमित व्यक्तिका परिवारका सदस्यलाई एम्बुलेन्सले बोक्न मानेनन्(हेर्नुहोस भिडियो सहित )

कोरोनाको आशंकामा सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक व्यक्ति संक्रमित रहेको शुक्रबार पुष्टि भयो। लगत्तै शुक्रबार नै साँझ प्रहरी उनका परिवारजनलाई लिन धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित घरमा पुगेको थियो। तर, कुनै पनि एम्बुलेन्स चालकले कोरोना भाइरसबाट संक्रमित व्यक्तिका परिवारलाई बोक्न नमान्दा प्रहरी मध्यरातमा रित्तै फर्किनुपरेको छ। प्रहरी संक्रमितका परिवारका सबै सदस्यलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राख्नका लागि लिन गएको थियो।

प्रहरी स्रोतका अनुसार, संक्रमितका परिवारका सदस्य रहेको थाह पाएपछि कुनैपनि एम्बुलेन्स चालक उनीहरुलाई अस्पतालसम्म लैजान तयार भएनन्। प्रहरीले मध्यरातिसम्म एम्बुलेन्स चालकहरुलाई उनीहरुलाई अस्पताल पुर्‍याउन निकै आग्रह गरेको थियो। तर, प्रहरीको आग्रह कुनै चालकले मानेनन्। एम्बुलेन्स चालकले उनीहरुलाइ ल्याउन नमानेपछि प्रहरीको टोली राति करीब १२ बजे त्यतिकै फर्केको थियो। एम्बुलेन्स चालकहरुले सुरक्षा कवच (पिपिई) नभएको भन्दै एम्बुलेन्स चलाउन नमानेका हुन्। संक्रमित सेती प्रादेशिक अस्पतालमा छन्।

घरमा उनका बुवा आमा, दाजु भाउजु, भतिजी, उनकी पत्नी र छोरी सहित आठ जना छन्। एम्बुलेन्स चालकले उनीहरुलाई बोक्न नमानेपछि प्रहरीले पैदल अस्पताल ल्याउने कोसिस गरेको थियो। तर, परिवारका सदस्यले मानेनन्। उनीहरुलाई अस्पतालमा ल्याउन नसकिएपछि प्रहरीले घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ। उनी दुबईबाट काठमाडौं फर्किएका थिए। काठमाण्डौंबाट धनगढीको सोझो टिकट नपाएपछि उनले बुद्ध एयरमार्फत नेपालगंज अवतरण गरी बस चढेर धनगढी आइपुगेको बताइएको छ। एउटै उडानबाट उनीसँगै दुबईबाट आएका उनका साथी यतिबेला बिराटनगरमा छन्।

कोरोनाको लक्षण देखिएपछि उनी काठमाण्डौंबाट आएको तीन दिनपछि अर्थात् चैत ११ गते सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका थिए। त्यही दिनदेखि उनी सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका थिए। आइसोलेसनमा राखिएपछि उनको थ्रोट स्वाबको नमूना परीक्षणका लागि काठमाण्डौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्