Logo

अस्ट्रेलियामा नेपालीको नालीबेली : ९ जनामा संक्रमण !

अस्ट्रेलियामा आइतबार साँझसम्मको रिपोर्टअनुसार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ भने दुई लाख ११ हजारको परीक्षण गर्दा जम्मा ३ हजार ९ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणको केन्द्रबिन्दु न्यु साउथ वेल्स राज्य बनेको छ जहाँ १ हजार ७ सय ९१ जनामा संक्रमण भेटिएको छ ।

अस्ट्रेलिया सरकारले चालेको कदम

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सोमबारदेखि सार्वजनिक स्थानमा दुईभन्दा बढी व्यक्तिहरु जम्मा हुन नपाइने नियम घोषणा गरेका छन् । कोरोना भाइरसबाट अस्ट्रेलियालाई सुरक्षित राख्न यो कदम चालिएको उनले आफ्नो सम्बोधनमा बताए ।

सरकारी घोषणा पालना नगर्नेहरुलाई हजारौं डलर जरिवाना र जेल सजायसम्म हुने कुरा प्रधानमन्त्री मरिसनले बताएका छन् । सत्तरी बर्षमाथिका, हाल बिरामी अवस्थामा रहेका साठी बर्षमाथिका र आदिवासी समुदायका पचास बर्ष भन्दामाथिका सबैलाई घरबाट बाहिर ननिस्कन पनि उनले सल्लाह दिएका छन् ।

तर, घरबाट गर्न नमिल्ने अत्यावश्यक काम, अध्ययन, स्वास्थ्य उपचार, दैनिक उपभोग्य वस्तु किनमेल र सफा हावा लिन आफ्ना एक सहयोगीसँग सार्वजनिक स्थलमा जान पाइने प्रधानमन्त्रीले बताएका छन् । अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेक हन्टले अघिल्लो हप्ताका तुलनामा यो सप्ताहान्तमा अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या बढे पनि तुलनात्मक रुपमा वृद्धिदर घटिरहेको सरकारी दाबी छ । ।

अस्टेलियाका जनताले सरकारले भनेको सामाजिक दुरीको अनुशासनलाई पालना गरेकाले संक्रमणको वृद्धिदर अघिल्लो हप्ता भन्दा घटेको दाबी अधिकारीहरुले गरेका छन् ।

अस्ट्रेलियाले अघिल्ला हप्ताहरुमा सामाजिक जमघटलाई १० जनामा झार्नुका साथै अत्यावश्यकबाहेकका कामका लागि घर बाहिर ननिस्कन जनतालाई अपिल गरेको थियो ।

अत्यावश्यकबाहेकका सबै ब्यापार व्यवसाय बन्द हुँदा झन्डै १५ लाख मानिस बेरोजगार भएको बताइन्छ । तर, सरकारले बेरोजगार अस्ट्रेलियन जनता र व्यवशायलाई आर्थिक राहतका प्याकेज ल्याएको छ ।

सोमबारदेखि लागु हुने दुईभन्दा बढीको सार्वजनिक जमघटमा सिमाना र विदेशबाट आउनेलाई अनिवार्य सरकारी क्वारेन्टाइनमा बस्नुपर्ने नियमले अस्ट्रेलियामा कोरोना संक्रमणलाई घटाउने विश्वास गरिएको छ ।

यसअघि स्वेच्छिक एकान्तबासमा रहन दिइएको अवसरलाई उलंघन गरेकाले अस्ट्रेलियाले शनिबार रातिदेखि अस्ट्रेलिया आइपुग्ने सबैलाई अनिवार्य सरकारी निगरानीमा राख्ने निर्णय गरेको हो । यहाँ कोरोनाको संक्रमण ८० प्रतिशत विदेशबाट आएकाहरुबाट भइरहेको तथ्यांक छ ।

नेपालीको अवस्था के छ ?

अस्ट्रेलियाको कुल जनसंख्याको दर हेर्ने हो भने हरेक एक हजारमा ४ जना नेपाली हुन् । किनकी यहाँको अहिलेको जनसंख्या २ करोड पचास लाख हाराहारीमा छ, जसमा एक लाख नेपाली छन् । करिब ४ हजार अस्ट्रेलियनमा कोरोना संक्रमण देखिँदा जम्मा ९ जना नेपालीमा पनि देखिएको छ । तर, सबैको अवस्था सामान्य छ । र, चार जना त सञ्चो भइसकेका छन् ।

अस्ट्रेलियामा नेपाली समुदायका मानिसहरु प्रायः अत्यावश्यक सेवामा कार्यरत छन् । हजारौको संख्यामा नर्सिङ, वृद्धवृद्धा स्याहार केन्द्रहरु तथा सरसफाइ सेवामा छन् । हजारौं मानिसले अहिले पनि सार्वंजनिक यातायातको प्रयोग गर्छन् । उनीहरु अहिले कोरोना जस्तो महामारीको संक्रमणको जोखिममा हुन सक्छन् ।

अस्ट्रेलिया सरकारले कुनै पनि खालको बिसञ्चो महसुस भएमा घरबाहिर ननिस्कन भनेको छ । कोरना संक्रमणको आशंका भएमा तुरुन्त सम्पर्क गर्न भनेको छ । जसको परीक्षण तथा उपचार निशुल्क हुने भएकाले आर्थिक बोझको चिन्ता वा बिमा झन्झटको चिन्ता कसैले पनि मान्नु पर्ने छैन ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलिया तथा नेपाली दुताबास क्यानबेराको एक संयुक्त तथ्यांकअनुसार अस्ट्रेलियामा अहिले ४८७ जना नेपालीहरु एकान्तवासमा छन् जसमा ३१९ जना पुरुष र १६८ जना महिला छन् । उनीहरुमध्ये ४३० जना हालसालै नेपालबाट आएका र ५७ जना अस्ट्रेलियामा नै कोरोना संक्रमितसंग निकट सम्पर्कमा पुगेको आशंका गरिएकाहरु छन् ।

एकान्तबासमा भएका मध्य ४८१ जना २० बर्षदेखि ४० बर्षसम्मका छन् । ६० बर्ष तलका जम्मा ६ जना छन् । यो तथ्यांकमा १०२ जनालाई गैरआवासीय नेपाली संघका विभिन्न राज्य समितिहरुले खाद्यान्नदेखि अत्यावश्यक वस्तुहरु किनिदिएर सहयोग गरेका छन् ।

नेपालीमा कोरोना संक्रमणको कथा

गत ८ मार्च २०२० आइतबारका अस्ट्रेलियन सञ्चार माध्यममा समाचार आयो – नेपालीमा पनि कोरोना भाइरसको संक्रमण देखियो । यो नेपाली समाजभित्रको पहिलो घटना थियो ।

नेपालबाट सिंगापुर, सिड्नी हुँदै २०२० फेब्रुअरी २६ मा तास्मानियाको होबर्ट आइपुगेका २० बर्षीय ती नेपाली विद्यार्थीमा फेब्रुअरी २७ मा नै रुघाखोकीका संकेतहरु देखिएका थिए । तर, उनी मार्च ६ शुक्रबारसम्म पनि स्वास्थ्य हटलाइनको सम्पर्कमा आएनन् ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार उनको रोयल होबर्ट अस्पतालमा प्रारम्भिक परीक्षण गरियो र परीक्षणको अन्तिम रिपोर्ट आउञ्जेल एकान्त बासमा रहन भनियो । तर, उनले त्यो गरेनन् । जब मार्च ७ शनिबार उनको रिपोर्ट आयो, जसमा कोरोना भाइरस पोजेटिभ देखियो । अनिमात्रै उनलाई एकान्तबासमा राखियो ।

तास्मानियाका सार्वजनिक स्वास्थ्यका निर्देशक डा मार्क भेइचले भने, ‘सेल्फ आइसोलेसन अर्थात स्वेच्छिक एकान्त बासको निर्देशन नमान्ने कुरा कसैका लागि पनि सैह्य हुने छैन ।’

त्यसपछि सुरु भयो उनले केही सिफ्ट काम गरेको ग्रान्ड चान्सलर होटेल र दुईपटक गएको अस्ट्रेलियन आइडल कलेज र उनीसँगै बस्नेहरुमा संक्रमणको चिन्ता । उनीसँगै निकट सम्पर्कमा भएका आशंका गरिएका चारजना उनी बस्ने घरका, तीन जना घरबाहिरका उनका साथीहरु र एक अर्को गरी ८ जना उनको ‘निकट सम्पर्कमा’ भएका व्यक्तिहरुको पहिचान गरियो र ती संक्रमितलगायत सबै ९ जनालाई स्वेच्छिक एकान्त बासमा बस्न लगाइयो ।

‘निकट सम्पर्कमा’ आएका व्यक्ति ती हुन्, जो कुनै पनि कोरोना भाइरस संक्रमितसँग १५ मिनेट आमने सामने बसेर समय बिताएका वा त्यस्ता व्यक्तिसँग दुईघण्टा भन्दा बढी एउटा कोठामा बिताएका हुन्छन् ।

यो परिभाषाभित्र पर्ने सबै १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा रहनुपर्ने हुन्छ । तर, हाल उनी सञ्चो भइसकेका छन् र उनीसँग निकट सम्पर्कमा आएकाहरुले पनि स्वेच्छिक एकान्तबासका १४ दिन बिताइसक्दा कसैमा पनि संक्रमण भएको पुस्टि भएन । तर तास्मानियाको नेपाली समाजलाई भने केही दिन यो कुराले सताइरह्यो ।

नेपाली समाजमा दोस्रो कोरोना संक्रमणको खबर मार्चको तेस्रो साता पत्ता लाग्यो । गैरआवासीय नेपाली संघका प्रबक्ता नन्दु गुरुङकाअनुसार न्यु साउथ वेल्स राज्यको एउटा नर्सिङ होममा कार्यरत एक नर्समा कोरोना संक्रमण देखियो । स्वास्थ्यकर्मीहरुको सल्लाहमा उनी एकान्तवासमा रहिन् । हाल उनी निको भइसकेकी छिन् ।

नेपाली समाजमा कोरोना भाइरस संक्रमणको तेस्रो खबर भिक्टोरियामा सुनियो । भिक्टोरियास्थित नेपाली महाबाणिज्य दूतावास सूत्रकाअनुसार गत बिहीबार मार्च २६ मा एकजना नेपाली महिलाले आफूलाई कोरोना संक्रमणको शंका लागेपछि तत्काल जाँच गराइन् । शुक्रबार उनमा कोरोना संक्रमण भएको पुष्टि भयो ।

उनीसँगै बसेका एक पुरुष र एक महिला गरी अरु दुईजनाले शुक्रबार नै आफ्नो स्वास्थ्य परीक्षण गराए । दुर्भाग्यवश आइतबार बिहान उनीहरुमा पनि कोरोना संक्रमण भएको पुष्टि भयो । नेपाली महाबाणिज्य दुताबास सूत्रले उनीहरुले हाल आफ्नै घरमा बसेर स्वस्थ्यलाभ गरिरहेका बतायो ।

गत बिहीबार २६ तारिखमा नै न्यु साउथ वेल्सको एक बस्तीमा अर्की एक महिलामा कोरोना संक्रमणको आशंका भयो । यो नेपाली समाजमा कोरोना संक्रमणको चौथो खबर थियो । उनले तत्काल जाँच गराइन् र उनमा कोरोना संक्रमण पुष्टि भयो । उनीसँगै बसेका अरु तीनजना महिलाले पनि शुक्रबार आफ्नो जाँच गराए ।

शनिबार उनीहरुमध्ये दुईजनामा कोरोना संक्रमण देखियो, एक जनामा देखिएन । कोरोना संक्रमण नदेखिएकालाई अलग राखेर अरु तीनजना संक्रमितलाई उनीहरुकै निवासमा आइसोलेसनमा राखियो । उनीहरुको स्वास्थ्यमा सुधार भैरहेको गैरआवाशीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ बताउँछन् ।

यसरी अहिलेसम्म अस्ट्रेलियाको नेपाली समाजमा जम्मा ८ जनामा कोरोना संक्रमण भैसकेको छ । जसमा दुईजना सञ्चो भएका र ६ जनाको स्वास्थ्य पनि सुधारोन्मुख रहेको गैरआवासीय नेपाली संघले बताएको छ ।

सामाजिक अभियन्ताहरुमार्फत संक्रमितहरुले आफ्नो व्यक्तिगत गोपनीयतालाई सम्मान गर्न र उनीहरुको पहिचान खुल्ने गरी सूचनाहरु सार्वजनिक नगर्न अनुरोध गरेका छन् ।

विद्यार्थी बढी समस्यामा

अस्ट्रेलियामा नेपाली सामुदायिक संस्थाहरुको महासंघ फेन्काले यहाँको समाजसेवा र स्वास्थ्य मन्त्रालयमा बुझाएको पत्रमा उल्लेख भए अनुसार अस्ट्रेलियामा अक्टोबर २०१९ सम्ममा जम्मा ५२ हजार नेपाली विद्यार्थी अध्यनरत छन् ।

सन् २०२० को जनवरीसम्मको आठ महिनामा २४ हजार ५ सय नेपाली पर्यटकहरु अस्ट्रेलिया आएका छन्, जसमा अधिकांश विद्यार्थीका अविभावकहरु छन् ।

अस्ट्रेलियामा अहिले नेपाली विद्यार्थीहरुले सबैभन्दा बढी समस्या व्यहोरिरहेका छन् । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष नवीन पन्थका अनुसार कोरोना भाइरसको महामारीका कारण भिषा लागेका तर नेपालबाट आउन नपाएका बिद्यार्थी, विभिन्न कारणले नेपाल गएर फर्किन नपाएकाहरु र नेपालबाट नआउँदै भिसा सकिन लागेका विद्यार्थीहरु, यही भएर भिसा सकिन लागेका अविभावक तथा विद्यार्थीहरु र यहीँ भएर बेरोजगार हुन पुगेका विद्यार्थीहरु तथा अन्य अस्थायी बासिन्दाहरुको समस्या अहिले बढेको छ ।

रोजगारीका अवसरहरु गुमेका तर अस्ट्रेलियन सरकारले दायित्व लिनु नपर्ने नेपाली नागरिकहरुलाई यहाँको जीवन पनि असहज हुने र तत्काल नेपाल फर्किन पनि मुस्किल हुने भएकाले समस्या जटिल हुँदै जाने देखिन्छ ।

अहिले गैरआवासीय नेपाली संघले एकान्तबासमा भएका एक सयजनालाई पहिलो एक महिना न्यूनतम खानपिनको व्यवस्थापन गरे पनि निकट भविश्यमा हजारांै विद्यार्थीलाई एकैपटक पर्न सक्ने समस्या यहाँका सामाजिक संस्थाले समाधान गर्न सक्ने देखिँदैन ।

केही केहीले अविभावकको भिषा सकिने लगायत उनीहरु अधिकांशको बिमा नभएकाले समस्या हुन सक्ने चिन्ता व्यक्त गरिरहेका छन् । तर, युवा सामाजिक अभियन्ता नवीन पन्त भन्छन् – हामी यहाँका विश्वविद्यालय, कलेज तथा राज्य सरकारहरुसँग छलफल गरी समस्या समाधानको कोसिस गर्छौं ।

उनले थपे – स्वास्थ्यसम्बन्धी पर्याप्त सूचनाहरु भए पनि अहिलेका मुख्य समस्या दैनिक खानपिन, घरभाडा, रोजगारी, बिमा समस्या र अध्यागमन नीतिहरुबारे जानकारी गराउनुपर्ने भएको छ ।

नेपाल फर्कन समस्या

अस्ट्रेलियाले नेपालमा रहेका आफ्ना स्थायी बासिन्दा तथा नागरिकहरुलाई अप्रिल १ मा यहाँ ल्याउने व्यवस्था गरे पनि अस्ट्रेलियाबाट नेपाल जान चाहने हजारौं नेपालीको तत्काल नेपाल जाने इच्छा पूरा हुने सम्भावना भने छैन ।

अस्ट्रेलिया आउने नेपाली जहाजमा अत्यावश्यक समस्या भएका नेपालीलाई नेपाल पठाउने पहल क्यानबेरास्थित नेपाली दूतावासले गरे पनि यहाँको परराष्ट्र मन्त्रालयले प्रक्रिया लामो हुन सक्ने कूटनीतिक जवाफ आइतबार नेपाली दूतावासलाई दिइसकेको छ । नेपाली दूतावासमा नेपाल जाने व्यवस्था गरिदिन दैनिक सयौं टेलिफोन तथा इमेलहरु आउने गरेको दूतावासका अधिकारीहरु बताउँछन् ।

अस्ट्रेलियाले नेपालबाट आउने आफ्ना सबै नागरिक तथा स्थायी बासिन्दाहरुलाई विमानस्थलबाट सोझै सरकारी क्वारेन्टाइनमा दुई हप्तासम्म राख्ने व्यवस्था गरिसकेको छ ।

तर, नेपालले हाल कसैलाई पनि नेपाल आउन नदिने निर्णय गरेको छ । अस्ट्रेलियामात्रै होइन, विश्वका दर्जनौं देशमा नेपाल आउन चाहने हजारौं नेपालीहरु छन् । तर, नेपालले अन्य देशहरुले जस्तै पूर्वतयारी नगर्दासम्म अहिले नेपाल जाने धेरैको चाहना पूरा हुने देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्