Logo

सरकारले तत्काल कदम नचाले अष्ट्रेलियामा नेपाली विद्यार्थीको अवस्था थप नाजुक बन्ने !

सरकारले तत्काल गम्भीर कदम नचाले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुको अवस्था थप नाजुक बन्ने देखिएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुलाई परिवारको सहयोग माग्न या अष्ट्रेलिया छाड्न आह्वान गरेपछि भर्खरै अष्ट्रेलिया उत्रिएका विदेशी विद्यार्थीहरू मारमा परेका छन् । यससँगै नेपाली विद्यार्थी पनि संकटमा परेका छन् ।

फ्रेब्रुअरी र मार्च महिनामा अष्ट्रेलियामा विद्यार्थीहरुका लागि नयाँ सेशन सुरु हुने गर्छ । सोही कारण हालसालै मात्र त्यहाँ पुगेका ३० हजार बढी विद्यार्थीहरुको भीडमा नेपाली विद्यार्थीको संख्या पनि उल्लेख्य छ ।

‘तर आउनेबित्तिकै कामदेखि कोठासम्मको समस्याको सामना गर्नु परिरहेको छ नेपाली विद्यार्थीहरुले,’ अष्ट्रेलियाको क्वीन्सल्याण्डस्थित ब्रिसबेनमा रहेका नेपाली विद्यार्थी एवं नेपाली समाजका अगुवा सिद्धार्थराज भण्डारीले न्यूज २४ संग कुरा गर्दै भन्नुभयो, ‘यो अकल्पनीय अवस्थाबाट उनीहरुलाई बचाउन पहल गर्न आवश्यक भइसकेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्वले नै समस्या भोगिरहँदा अष्ट्रेलिया पनि चपेटामा छ । वल्र्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्ममा अष्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ६ सय ३५ पुगिसकेको छ भने ३४ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो समय हरेक राज्यमा कडाइ थालेको अष्ट्रेलिया सरकारले कोरोना जोखिम बढ्न नदिन कुनै कुनै राज्यमा २ जना भन्दा बढी हिँड्न नपाउने नियम लागू गरेकाे छ । यदि त्यसरी हिँडेको खण्डमा ठाउँको ठाउँ ‘अन द स्पट’ २ हजार डलर जरिवाना लगाउने निर्णय गरेको छ ।

लकडाउनदेखि सेमिलकडाउनको नीति अपनाएको अष्ट्रेलिया सरकारको यो कदमले नेपाली विद्यार्थी मारमा परेका छन् । अध्ययनका साथसाथै काम गरेर मामको पनि जोहो गर्दै आएका नेपाली विद्यार्थीहरुलाई अहिले उत्पन्न अवस्था अकल्पनीय समस्या बनेर उभिएको पनि भण्डारीले न्यूज २४ लाई बताउनुभयो ।

‘छलफल सुरु भएको छ । अष्ट्रेलियास्थित नेपाली राजदूतावाले पनि नेपाली विद्यार्थीको अवस्था बारेमा चासो देखाउँदै सम्पर्कका लागि आह्वान गरेको छ,’ भण्डारीले भन्नुभयो, ‘तर अवस्था गम्भीर बनिसकेकोले राजदूतावास थप गम्भीर बन्न आवश्यक देखिएको छ ।’

‘कोही विद्यार्थी अब १५ डलर मात्र बाँकी छ भनिरहेका छन् । यस्तो भन्नेको संख्या कम छैन बढी नै छ,’ न्यूज २४ संगको कुराकानीमा भण्डारीले थप भन्नुभयो, ‘कसरी यो समस्याबाट बचाउन सकिन्छ नेपाली विद्यार्थीलाई यसबारेमा सबै सरोकारावाला निकाय गम्भीर बन्न जरुरी भइसकेको छ ।’

प्रतिक्रिया दिनुहोस्