Logo

काेराेनाकाे सङ्क्रमण विश्वका दुई सय आठ देशमा फैलियाे !

काेराेना भाइरस (कोभिड १९) को सङ्क्रमण दुई सय आठ देशमा फैलिएको छ । दक्षिणी सुडान र सेन्ट पियरे मिकेलनमा एक–एक जनामा कोरोना पुष्टि भएपछि कोभिड १९ को सङ्क्रमण फैलिएको देशको सङ्ख्या दुई सय आठ पुगेको हो । यस्तै दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा पनि कोरोना भाइरस फैलिँदा सङ्क्रमित हुनेको सङ्ख्या साढे १२ लाख नाघेको छ । अहिलेसम्म १२ लाख ७१ हजार आठ सय ७५ जनामा कोरोना पुष्टि भएकोमा दुई लाख ६१ हजार चार सय २४ जना उपचारपछि निको भएका छन् ।

सङ्क्रमितमध्ये ९ लाख ४१ हजार ४६ जनाको भने उपचार भइरहेकाे छ भने ६९ हजार चार सय पाँच जनाकाे ज्यान गएको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा मात्रै अहिलेसम्म कोरोनाका कारण साढे ९ हजारभन्दा धेरैको ज्यान गएको छ । ३ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा साढे १५ हजारभन्दा धेरै, स्पेनमा साढे १२ हजारभन्दा धेरै, फ्रान्समा आठ हजारभन्दा धेरैको ज्यान गएको छ । यसैगरी भारतमा आइतबार थप १८ जनाको ज्यान गएको छ । भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय १७ पुगेको छ भने सात सय जना नयाँ बिरामी थपिएपछि सङ्क्रमितको सङ्ख्या ४ हजार नाघेको छ । विभिन्न देशमा गएको २४ घण्टामा मात्रै चार हजार सात सय १५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्