कोरोना भाइरस सम्बन्धी ७ तथ्य ! जानै पर्ने
नोबल कोरोना भाईरस (कोभिड-१९) पूरा विश्वमा फैलिएको छ । गत डिसेम्बर महिनामा चीनको वुहान प्रान्तमा फैलिएको यो भाईरसबाट प्रभावितको संख्या ८ लाख ५० हजार नाघेको छ । ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वका सबै महादेश यो प्रकोपको शिकार भएका छन् । आधुनिक मानव ईतिहासमै सम्भवतः सबैभन्दा ठूलो विश्वव्यापी चुनौतीको रुपमा कोभिड-१९ लाई लिइएको छ । संयुक्त राष्ट्रसंघले कोरोना भाईरसको प्रकोपलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो विपत्ति भएको बताएको छ । कोरोना भाईरसबारे ७ वटा महत्वपूर्ण तथ्य यी हुन्
नामाकरण
सुरुवाती दिनमा कोरोना भाईरस, नोबल कोरोना भाईरसको नामले चिनिने यो रोगलाई कोरोना भाइरस डिजिज-२०१९ (कोभिड-१९) नाम दिइएको छ ।
श्वास-प्रश्वास प्रणालीमा देखिने यो रोगको पूरा वैज्ञानिक नाम सार्स कोभ-२ (सेभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम कोरोना भाईरस-२) हो ।
कभरेज
पछिल्लो तथ्याङ्क अनुसार कोभिड-१९ बाट संसारका २०३ वटा मुलुक प्रभावित भइसकेका छन् । जसमा सबै महादेश, सबै प्रकृतिको हावापानी र मौसम भएका देश पर्दछन् ।
विश्व स्वास्थ संगठनले यो रोगलाई ‘पेन्डेमिक’ घोषणा गरेको छ । अर्थात्, यो एक विश्वव्यापी महामारी हो । कोरोना भाईरसको महामारीले विश्वका हरेक देशको अर्थतन्त्र र सामाजिक जीवन ठप्प पारिदिएको छ ।
रोगको लक्षण
कोरोना भाईरस श्वास-प्रश्वास प्रणालीसँग सम्बन्धित छ । यसको मुख्य लक्षण उच्च ज्वरो (१०० दशमलव ४ डिग्रीभन्दा माथि), रुघाखोकी, सास फेर्न गाह्रो हुनु, एकदमै थाकेको अनुभव हुनु आदि हुन् ।
मृत्यु र मृत्युदर
कोरोना भाईरसको कारण विश्वभर हालसम्म ४२ हजार ३ सयभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । संक्रमण देखिएपछि उपचार प्रक्रिया सकिएको कुल संख्याको १९ प्रतिशत मृत्यु हुनेमा पर्दछ ।
यो रोगको कारण हुने औसत मृत्युदर ३ दशमलव ४ प्रतिशत छ । जुन अरु एन्फ्लुएन्जा प्रकृतिको महामारीको तुलनामा निकै बढी हो । यसअघि फैलिएका महामारीमा मृत्युदर १ प्रतिशत हाराहारी भएको विज्ञहरुले बताएका छन् ।
त्यसैगरी महिला र पुरुष तथा उमेर समुह अनुसार मृत्युदर फरकफरक छ । पछिल्लो तथ्याङ्क अनुसार १० देखि ३९ वर्षसम्मको उमेर समुहमा मृत्युदर शुन्य दशमलव २ प्रतिशत रहेको छ । त्यसैगरी ४० देखि ४९ को उमेर समुहमा शुन्य दशमलव ४ प्रतिशत, ५० देखि ५९ को उमेर समुहमा १ दशमलव ३ प्रतिशत, ६० देखि ६९ को उमेर समुहमा ३ दशमलव ६ प्रतिशत, ७० देखि ८९ को उमेर समुहमा ८ प्रतिशत र ८० वर्षभन्दा माथि १४ दशमलव ८ प्रतिशत मृत्युदर छ । ८० वर्षभन्दा माथिको औसत मृत्युदर १४ दशमलव ८ प्रतिशत भए तापनि उमेर समुहमा मृत्युदर झन्डै २२ प्रतिशत छ । त्यसैगरी पुरुषमा २ दशमलव ८ प्रतिशत र महिलामा १ दशमलव ७ प्रतिशत मृत्युदर रहेको छ ।
१० वर्षमुनिका बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छैन । हालसम्मको सबैभन्दा कम उमेरमा संक्रमण एकजना १७ वर्षीय अमेरिकी युवकमा देखिएको छ ।
प्रकृति
कोरोना एन्फ्लुएन्जा प्रकृतिको भाईरस हो । यसले श्वास-प्रश्वास प्रणालीमा असर पारेर मानिसलाई मृत्युको मुखमा पुर्याउँछ । स्वास्थ वैज्ञानिकहरुका अनुसार यो निकै कमजोर भाईरस हो ।
मानिसबाट मानिसमा सजिलैसँग सर्ने भाइरस भएकाले विशेष सावधानी अपनाउनु जरुरी छ । मूलतः संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा यो भाइरस सर्ने सम्भावना अत्यधिक हुन्छ ।
औषधी उपचार
हालसम्म कोरोना भाईरसविरुद्ध कुनै खास औषधी र भ्याक्सिनको विकास भइसकेको छैन । अमेरिका, चीन लगायतका देशमा भइरहेका अनुसन्धान निचोडमा पुगिसकेका छैनन् ।
हाल भाइरसको उपचार गर्नेभन्दा पनि संक्रमित व्यक्तिको शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने र रोगविरुद्ध लड्न सहायता पुग्ने औषधीको प्रयोगले रोग नियन्त्रण भइरहेको छ ।
जोगिने उपाय
स्वस्थ व्यक्तिले सामाजिक दूरी कायम राख्नु कोरोना भाइरसबाट जोगिने सबैभन्दा उत्तम उपाय हो । भीडभाड र जोखिमपूर्ण स्थानमा नजाने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, जोखिमयुक्त वस्तुहरु नछुने आदि सावधानी अपनाएमा यसबाट बच्न सकिन्छ । संक्रमित व्यक्तिले भाइरस फैलिन नदिन आफै आइसोलेसनमा बस्नु आवश्यक छ ।