लकडाउन तोड्दै बझाङमा हजारौँको भीडमा मनाइयो ‘चैतली मेला’ !


विश्वभरि नै कोरोना महामारी र त्रास फैलिरहेको समयमा सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा भने भव्य रुपमा मेला सम्पन्न गरिएको छ ।जिल्लाको छबिसपाथिभेरा गाँउपालिकामा बान्नीको ‘चैतली मेला’ लागेको हो । सधैँका वर्षझैँ यस वर्ष पनि मेला भव्य तरिकाले सम्पन्न भएको स्थानीय बासिन्दाले जनाएका छन् । सधैँका वर्षहरुमा रातिसम्म मेला लाग्ने गरेको भए पनि यस वर्ष भने बिहानदेखि नै सुरु भएको मेला बेलुका समापन गरिएको थियो । मेलामा स्थानीय बासिन्दा तथा गाँउपालिकाका सबै स्थानीय बासिन्दा आ–आफ्नो घरमा ताला लगाएर मेला भर्न पुगेका थिए ।

भीडभाडबाट कोरोना संक्रमण हुने भन्दै सरकारले देशभरि नै कडा लकडाउन लगाएको छ । तर यहाँका स्थानीय बासिन्दाले भने लकडाउनको बेवास्ता गर्दै मेला सम्पन्न गरेका हुन् ।

यहाँ धेरै जस्तो स्थानीय बासिन्दा यही मेलाका लागि केही समयअघि मात्रै भारतका विभिन्न सहरबाट गाँउघर भित्रिएका स्थानीयले बताएका छन् । उनीहरु सरकारी क्वारेन्टाइनमा नबसेर होम क्वारेन्टाइनमा बसेका भए पनि धेरैजसोे त मेलामा सहभागी भएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

स्थानीय सरकारले मेला आयोजना नगर्न र लकडाउनको पुर्ण पालना गर्न निर्णय गरेरे जारी गरे पनि उक्त निर्णको समेत बेवास्ता गर्दै हजारौँको सहभागितामा मेला सम्पन्न गरिएको छ ।

बझाङको छबिसपाथिभेरा गाँउपालिका वडा नं. ३ को बान्नीचौरमा चैतली मेला लागेको हो । हरेक वर्षको चैत्र शुक्ल त्रेयोदशीका दिन मनाइने बान्नीको चैतली मेला यस वर्ष चैत्र २४ गते परेको थियो ।

सरकारले बैशाख ३ गतेसम्म लकडाउन घोषणा गरी कुनै पनि कार्यक्रम नगर्न तथा सभा–सम्मेलन, मेला–जात्रा, अनावश्यक भीडभाड नगर्न भनेको छ । बान्नी मेलामा भने सरकारको नीतिलाई नै चुनौती दिइएको छ ।

यसरी सरकारकै नीति उल्लंघन गरी मेला मनाइएको विषयमा गाँउपालिका उपाध्यक्ष राधिका रताला जोशीलाई सोध्दा स्थानीयले अटेर गरेको बताइन् । गाँउपालिकाले यसपालीको चैतली मेलामा भीडभाड गरी मनाउन रोक लगाउँदा पनि स्थानीयले अटेरी गरेर मेला सम्पन्न गरेको उनको भनाइ छ । आफूहरुले गाँउपालिकाका विभिन्न नाकाहरुमा प्रहरीलाई परिचालन गरेको भए पनि चोरबाटो प्रयोग गरेर मेलामा उपस्थित हुनेहरु संख्या बढी रहेको उनको भनाइ छ ।

दुई जना घाइते

यसैबीच प्रसिद्ध चैतली मेलामा तल्लोछबिस र माथ्लोछबिस बीच भकुण्डो खेल्दा विवाद भएपछि दुई जना घाईते भएका छन् ।

दुई पक्षबीच ढुङ्गा–मुढा हानाहान भएपछि दुईजना घाइते भएका हुन् । स्थानीयका अनुसार सोमबार साँझ करिब ५ः३० बजेको समयमा दुबै पक्षबीच ढुंगा हानाहान भएको थियो ।

मेला स्थलमा प्रहरीको उपस्थिति नभएको पनि जनाइएको छ । सोही कारण पनि ढुङ्गा हानाहान भएको स्थानीयले बताए ।

मेलाको प्रचलन

सुदूर पश्चिमको प्रसिद्ध मेला मानिने बान्नीकी चैतलीमा हजारौं श्रदालु तथा दर्शनार्थीहरु भेला हुने गर्छन् । यसपालि पनि हजारौँले बान्नीको काँकर (लिंगो) र बान्नी मष्टा (कुलदेवता) को दर्शन गरेका छन् ।

परापुर्वकालमा महिसासुर दानवले बान्नी मष्टा देवतासंग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मा देवी प्रकट भई महिसासुरको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला मनाउने गरिएको छ ।

सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतीकका रुपमा चैत्र औंसीका दिन काटेको काँकर (लिंगो) लाई चैत्र शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने खेतमा हिँडाउने गरिन्छ । झण्डै ४०–५० मिटर लामो काँकरलाई मानिसहरुले बोकेर ३ सय मिटर जति हिँडाउने गरिन्छ ।

यसरी हिँडाएर ल्याएको काँकरलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुण्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छबिस र माथ्लो छबिसका बासिन्दाहरुबीच भकुण्डो खेल्ने प्रचलन रहेको छ ।

यसरी काकंर हिँडाएको र भकुन्डो खेलेको हेर्नका लागि बझाङ जिल्लालगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु साविक कँडेल गाविसको बान्नी चौरमा पुग्ने गर्दछन् । यसपाली भने विगतको जत्रो भीड नभएको बताइएको छ ।

राक्षसलाई मारी सकेपछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औँलाको नगरा (गजा) बनाई विजय उत्सव मनाएको किंवदन्ती छ । सोही परम्परा अनुसार यस वर्ष पनि मेला सम्पन्न गरिएको हो ।

चैतली मेला हेर्नकै लागी भनेर सुदूरपश्चिमका साथै भारत बाट समेत दर्शालु भत्तजनहरु मेलामा पुग्ने गरेका भए पनि यस वर्ष भने बाहिरबाट कोही पनि दर्शालु भक्तजनहरु नपुगेको बताइएको छ ।

जोखिममा सुदूरपश्चिम, झनै जाेखिम बझाङमा

नेपालमा कोरोना भाइरसको सबैभन्दा उच्च जोखिममा सुदूरपश्चिम प्रदेश रहेको छ । यसै समयमा बझाङ झन् यसको उच्च जोखिममा देखा परेको यहाँका जानकारहरु बताउँछन् । भारतबाट आएकाहरु समेत खुलेआम मेला र गाउँघर डुलिरहँदा जोखिम बढेको हो ।

देशमा लकडाउन भएको समयमा बझाङका ग्रामीण बस्तीहरुमा भने यसको प्रभाव देखिएको छैन । जिल्लाको सदरमुकाम सुनसान भए पनि जहाँ प्रहरी, प्रशासनको पहुँच छैन, त्यहाँ भने स्थानीय बासिन्दाले भीडभाड गर्ने गरेको पाइएको छ ।

जिल्लाभन्दा बाहिर र भारतबाट समेत यहाँका ग्रामीण बस्तीहरुमा स्थानीयहरु पुगेका छन् र स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा नबसेर उनीहरु सिधै आ–आफ्नो घर गएका छन् । केही व्यक्ति भने २–३ दिन मात्रै क्वारेन्टाइनमा बसेर भागेर आफ्नो घर गएको पाइएको छ ।

२२ गते मात्रै बिथ्थड–चिर गाँउपालिकामा ३८ जना क्वारेन्टाइनबाट भागेर गएका छन् । यस्तै दुर्गाथली गाँउपालिकामा ३५ जना गाँउपालिकाले बनाएको क्वारेन्टाइनमा नबसेर आफ्नो घरमा भागेर गएको स्वास्थ्य कार्यलयको तथ्याङ्कमा उल्लेख छ ।

हाल जिल्ला भरिका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका ५ जना महिला, ३१२ जना पुरुष र ५ जना बालबालिका गरेर जम्मा ३२७ जना बसेका छन् ।