शनिवार नेपालमा थप ३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ९ पुगेको छ । हालसम्म नेपालमा बाहिरबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमित देखिएको थियो । तर शनिवार मात्रै एकबाट अर्को व्यक्तिमा कोरोना सरेको पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणको दोस्रो चरण सुरु भएको छ । नेपालभित्रै एकबाट अर्को व्यक्तिमा कोरोना सरेको यो पहिलो पटक हो । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित हुनेहरुमा मुम्बइबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष रहेका छन् । त्यस्तै अर्का कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा कोरोना संक्रमण फेला परेको जनाएको छ । यससँगै बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसमा सरेको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणको ४ चरण छुट्याएको छ । संक्रमण फैलिएको देशबाट आफ्नो मुलुकमा आउदा संक्रमण देखिएमा पहिलो चरण हो । त्यस्तै आफ्नै ठाउँमा अर्थात स्थानीय रुपमै संक्रमण फैलिएमा दोस्रो चरण हुन्छ ।
यो चरणमा स्थानीय रुपमै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिने गर्छ । त्यस्तै तेस्रो चरणमा संक्रमण सामुदायिक रुपमा फैलिन्छ । यो चरणमा संक्रमित वा विदेशबाट आएका मानिससँग नभेटेकाहरुमा पनि संक्रमण देखिन्छ । त्यस्तै चौथो चरण भनेको महामारी हुनु हो । यस अवस्थामा संक्रमण रोक्न मुस्कील पर्छ ।
प्रतिक्रिया