Logo

अस्पतालले भर्ना गर्न मानेन, उपचार अभावमा वृद्धको ज्यान गयो !

डडेल्धुरा : कैलालीमा अस्पतालले भर्ना नलिएपछि उपचार नपाएर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ तेघरीका ७६ वर्षीय जनकलाल भट्ट रहेका छन्। बिहानैदेखि स्वासप्रश्वासमा समस्या आएपछि भट्टलाई साढे ११ बजे धनगढीस्थित माया मेट्रो अस्पताल पुगाइएको थियो। स्वासप्रश्वासमा समस्या आएपछि धनगढी उपचारका लागि लगिएको भएपनि धनगढीका अस्पतालहरूले भर्ना गर्न नमानेको मृत्यु भएको मृतककी श्रीमती भागरतीले बताइन्। ‘बिहान एक्कासि स्वासप्रश्वासमा समस्या आएको थियो। तुरुन्तै अस्पतालमा लगेका थियौं तर अस्पतालहरूले भर्ना गर्न नै मानेनन्।’ उनले भनिन् ‘कसैले डाक्टर छैनन् भने कसैले अन्त लगेर उपचार गर्नुहोस् भनेर भने।’

श्रीमानले समयमै उपचार पाएको भए बाँच्न सक्ने उनले बताइन्। उनले अस्पतालहरुले भर्ना गर्न नमानेपछि बुधबार बिहान ११ बजेदेखि धनगढीका अस्पतालहरुमा धाउनु परेको बताइन्। उनले सुरुमा माया मेट्रो अस्पताल लगेको तर त्यहाँ भर्ना गर्न नमानेको सुनाइन्। ‘श्रीमानलाई अस्पतालले भेण्टिलेटरमा राख्नुपर्ने भन्यो,’ उनले भनिन् ‘धनगढीमा भेन्टलेटर सुविधा भएको माया मेट्रो अस्पतालले भर्ना गर्न नमानेपछि अर्को भेण्टिलेटर सुविधा भएको निसर्ग अस्पतालमा लग्यो निसर्गले पनि भर्ना गर्न मानेन्।’

अस्पतालहरुले भर्ना गर्न नमानेपछि बाध्य भएर नेपालगंज लग्न अत्तरिया घरमा ल्याएको १० मिनेटमै मृत्यु भएको उनले जनाइन्। ‘भेण्टिलेटर खाली नभएकाले भर्ना गरेनौं’ भेण्टिलेटर खाली नभएकाले राख्न नकिएको माया मेट्रो अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले प्रतिक्रिया दिए। ‘अस्पतालमा ल्याएपछि चेक गरेका हौं।’ उनले भने ‘बिरामीको अवस्था भेण्टिलेटरमा राख्नुपर्ने थियो त्यसैले अस्पतालका भेण्टिलेटर खालि नभएकाले भर्ना गर्न सकेनौं।’ निसर्ग अस्पतालले भने डक्टर नै नभएका कारण भर्ना गर्न नसकिएको जनाएको छ। भेण्टिलेटर खाली भएपनि लकडाउनका कारण फिजिसियन डाक्टर काठमाडौंमा रोकिएका कारण भर्ना गर्न नसकिएको अस्पतालका संचालक कुवेर शाहीले बताए।

प्रतिक्रिया दिनुहोस्