Logo

बल्ल १० दिनपछि उठ्यो बाबुरामको शव, परिवारलाई ८ लाख रुपैयाँ दिइने घोषणा !

बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको १० दिनपछि दाहसंस्कार हुने भएको छ। उनकी श्रीमतीलाई रोजगारी, दुई छोराहरूको उच्च शिक्षा नि:शुल्क र आठ लाख रुपैयाँ दिने सहमति भएपछि परिवारले उनको दाहसंस्कार गर्ने भएको हो। होटल तथा रेष्टुरेन्ट संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीका अनुसार रूपन्देहीको सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र पाल्पाको रिब्दीकोट गाउँपालिकाले बाबुरामको परिवारलाई पाँच लाख रुपैयाँ दिने भएका छन्। ‘टण्डन समाज र थापा मगर समाजबाट पनि पैसा उठाएर आठ लाख रुपैयाँ दिने सहमति भएको छ,’ जिसीले भने।

पाल्पा रिब्दीकोट स्थायी घर भएका बाबुराम र रीता केही वर्षयता रूपन्देही झरेका थिए। रीता सैनामैनास्थित कृष्णप्रसाद ज्ञवालीको घरमा बसी दुई छोराको रेखदेख गर्दै आएकी थिइन् भने बाबुराम रोजगारीको लागि दुबई हान्निएका थिए।

विश्वभर कोरोना संक्रमण फैलिएपछि दुबईमा ट्याक्सी चलाउँदै आएका बाबुराम नेपाल फर्किएका थिए। चैत ६ गते राति कोठामा पुगेका उनलाई आउँदा नै सामान्य ज्वरो आएको थियो। घर आएपछि मेडिकल, स्वास्थ्यचौकी हुँदै उनी १३ गते आइसोलेसन अस्पतालमा भर्ना भएका थिए। तर उनको स्वाबसमेत परीक्षण नहुँदै १६ गते बिहान मृत्यु भयो। स्वाब परीक्षण गर्दा कोरोना उनमा कोरोना भाइरसको संक्रमण देखिएको थिएन।

प्रतिक्रिया दिनुहोस्