Logo

भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन, चिकित्सकहरु विकल्पको खोजीमा !

कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा बढी भेन्टिलेटरको खोजीमा निस्किएका छन्, तर कतिपय चिकित्सकहरु यो श्वासप्रश्वासमा सहजीकरण गर्ने उपकरणको प्रयोग गर्न त्यति उत्सुक देखिन छाडेका छन् । कारणः केही ठूला अस्पतालहरुले भेन्टिलेटरमा राखिएका कोरोना संक्रमित बिरामीहरुको मृत्युदर बढी देखिएको जनाएका छन्, र कतिपय चिकित्सकहरुले केही निश्चित किसिमका बिरामीलाई यी मेसिनले हानि पुर्‍याएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आफूहरुसँग विकसित उपचार पद्धति उपलब्ध भएपनि अमेरिकी चिकित्सकहरू भाइरसको सही उपचार पद्धति खुट्याउन प्रयत्नरत छन् । उनीहरू बिरामीहरुको लगातारको मृत्यु र आधारभूत स्वास्थ्य सामग्रीको अभावबीच मानिसका कथा र यथार्थपरक तथ्याङ्कमा निर्भर रहेका छन् ।

मेकानिकल भेन्टिलेटरहरूले बिरामीको फोक्सोमा खराबी आएपछि अक्सिजन दिन सहयोग गर्दछ । मेशिनको प्रयोग गर्दा बिरामीलाई बेहोस बनाउनु र घाँटीमा ट्युब छिराउनु पर्दछ । यस्ता बिरामीहरूको कुनै पनि बेला मृत्यु हुनु सामान्य हुन्छ, र श्वासप्रश्वासमा गरिएको यो सहयोगको यस्तो बेलामा केही अर्थ हुँदैन ।

सामान्यतया भन्नुपर्दा, विज्ञहरुका अनुसार श्वासप्रश्वासका ४० देखि ५० प्रतिशत गम्भीर बिरामीको भेन्टिलेटरमै मृत्यु हुन्छ । तर न्यूयोर्क शहरमा यिनै भेन्टिलेटरमा राखिएका ८० प्रतिशत वा सोभन्दा बढी कोरोनाभाइरस बिरामीहरूको मृत्यु भएको छ ।

अमेरिकन लङ एसोसिएसनका प्रमुख मेडिकल अधिकृत डा अल्बर्ट रिज्जोले अमेरिकामै सामान्यभन्दा बढी मृत्युदर रिपोर्ट गरिएको बताउनुभयो । यस्तै रिपोर्टहरू चीन र बेलायतबाट पनि आएका छन् । एउटा बेलायती रिपोर्टमा यो संख्या ६६ प्रतिशत देखिएको छ ।

चिनियाँ शहर वुहानमा गरिएको एउटा सानो अध्ययनमा भेन्टिलेटरमा राखिएका बिरामीमध्ये ८६ प्रतिशतको मृत्यु भएको थियो । यद्यपी यसको कारण स्पष्ट भइसकेको छैन । यो रोगबाट संक्रमित हुनुअघि बिरामीको अवस्थामाथि पनि विचार गरिनु आवश्यक हुन्छ ।

कतिपय विज्ञहरुको भनाईमा बिरामीलाई कुन अवस्थामा भेन्टिलेटरमा राख्ने भन्ने सही समय पहिचान आवश्यक रहन्छ । तर धेरैजसो स्वास्थ्यकर्मीहरु भेन्टिलेटरको प्रयोग गर्दा बिरामीहरुको स्वास्थ्य अरु बिग्रन्छ वा यसले हानिकारक प्रतिरक्षा प्रणाली निर्माण गर्दछ भन्नेमा खासै जानकार छैनन् ।

तर विज्ञहरू भन्छन्, भेन्टिलेटरहरू बिरामीका लागि समयक्रममा हानिकारक हुन सक्दछन्, किनकि मेसिनको सहयोगमा उच्च-दबाबको अक्सिजनलाई बिरामीको फोक्सोमा रहेको सानो हावाको थैलीमा जबरजस्ती छिराइन्छ ।

टोरन्टो जनरल अस्पतालका श्वासरोग उपचारका विशेषज्ञ डा एडी फानले भन्नुहुन्छ, “मेकानिकल भेन्टिलेसन त्यति राम्रो होइन भन्ने हामी सबैलाई थाहा छ । पछिल्ला केही दशकमा पत्ता लागेको कुरा के हो भने मेडिकल भेन्टिलेटरले फोक्सोलाई बिगार्न सक्दछ – त्यसैले हामीले यसको प्रयोग गर्नुअघि विशेष सावधानी अपनाउनु पर्दछ ।” डा फानले भन्नुभयो, मेसिनबाट दिइएको दबाबको मात्रा र श्वासप्रश्वासको संख्यालाई सीमित गरेर खतराहरूलाई कम गर्न सकिन्छ । तर केही चिकित्सकहरुले बिरामीहरूलाई सकेसम्म लामो समय भेन्टिलेटरमा नराखिएको बताएका छन् । र त्यसको सट्टा अन्य प्रविधिहरूको प्रयोगमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्