Logo

कोरोनाको डर लाग्दो रुप : एकैदिन ७ हजार बढीको मृत्यु, ८५ हजार बढी नयाँ संक्रमित !

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट संसारभर ज्यान गुमाउने व्यक्तिको संख्या ९५ हजार नाघेको छ । विश्वभर २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्रै ८५ हजार १० नयाँ संक्रमित पुष्टि भएका छन् भने ज्यान गुमाउनेको संख्या ७ हजार २ सय ३४ रहेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ३ हजार ४ सय २८ पुगेको छ ।

संक्रमितमध्ये ३ लाख ५६ हजार ४४० जना उपचारपछि निको भएर घर फर्किएका छन् । हाल ११ लाख ५१ हजार २७४ जना कोरोना भाइरसको उपचारका लागि अस्पताल तथा आइसोलेसनमा रहेका छन् ।

उपचाररतमध्ये ४९ हजार १२५ जनाको अवस्था चिन्ताजनक रहेको छ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण अहिले चीनमा धेरै नियन्त्रणमा आएको छ । हिजो र अस्ति नयाँ संक्रमण नदेखिएको चीनमा बिहीबार २ जनाको मृत्यु भएको छ । ६३ जना नयाँ संक्रमित फेला परेका छन् । चीनमा अहिले १ हजार १६० जना मात्र अस्पतालमा उपचाररत छन् । तीमध्ये १८६ जनाको अवस्था चिन्ताजनक रहेको छ भने अरु सामान्य रहेका छन् ।

कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा बिहीबार मात्रै ३३ हजार ५ सय ३६ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ ।

गत २४ घण्टामा १ हजार ९ सय जनाले ज्यान गुमाउँदा अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ६९१ पुगेको जनाइएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ६ सय ५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ४ सय ४७ पुगेको छ । स्पेनमा एकैदिन ५ हजार २ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार २ सय २२ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ५२ हजार १ सय ६५ जना उपचारपछि निको भएका छन् । ७ हजार ३ सय ७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ हजार ६ सय १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार २१० पुगेको छ । एकैदिन ४ हजार ७ सय ९९ जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ७ सयभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फ्रान्समा संक्रमितमध्ये २३ हजार २ सय ६ जना उपचारपछि निको भएका छन् । ७ हजार ६६ जनाको अवस्था गम्भीर छ भने ८२ हजार ३ सय ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्