अर्थविद् भन्छन्: सरकारको लापरवाहीले हामी १० वर्ष पछाडि धकेलिन सक्छौँ !
अर्थविद्हरुले कोरोनाबाट प्रभावित भएको अर्थतन्त्रको विषयमा सरकार गम्भीर नभएको बताएका छन् । विश्वका धेरै देशले कोरोनाले अस्तव्यस्त बनाएको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन कैयौँ प्रयास सुरु गरे पनि नेपालले भने अहिलेसम्म केही गर्न नसक्दा देशपछि धकेलिने अर्थविद्हरुले चेतावनी दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको ‘कोरोनाको महामारी र अर्थतन्त्रको चुनौती’ विषयक भिडियो कन्फ्रेन्समा अर्थशास्त्री प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेलले अहिले नेपाल सरकारले कोरोनाबाट अर्थतन्त्रमा परेको प्रभावबारे तथ्याङ्क सङ्कलन पनि नगरेको र सूचना पनि लुकाएको बताउनुभयो । ‘सरकारको तर्फबाट सूचना नै आएको छैन, अनि अर्थतन्त्रमा परेको प्रभावको विषयमा कसैसँग सुझाव लिने, सल्लाह गर्ने लगायतका काम पनि भएको छैन ।
‘हामीले ट्रेनिङ दिएका मान्छेहरु सत्तामा छन् तर उनीहरु कसैको सुझाव लिन उचित ठान्दैनन्’, प्याकुरेलले भन्नुभयो । उहाँले अहिलेकै अवस्थामा पनि नेपालको अर्थतन्त्र कम्तीमा तीन वर्षपछि धकेलिएको र महामारी लम्बिँदै गएमा १० वर्ष पछाडि धकेलिने चिन्ता व्यक्त गर्नुभयो ।
विशेषगरी मझौला उद्योग बन्द भएको र त्यहाँ काम गर्ने लाखौँ कामदार अहिले बेरोजगार हुँदा अवस्था भयावह हुने उहाँको भनाइ छ । ‘अर्थतन्त्र बलियो बनाउने जुन–जुन पिलर छन्, सरकारको पहिलो ध्यान त्यता हुनुपर्छ । मझौला उद्योग, पर्यटन क्षेत्रका उद्योगलाई यो बेला सरकारको ठूलो सहयोग आवश्यक छ’, प्याकुरेलले भन्नुभयो ।
यस्तै पूर्व अर्थसचिव रामेश्वर खनालले सरकारले कृषि क्षेत्रलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो । नेपालमा बेरोजगारको ठूलो समस्या आउन लागेको चेतावनी दिँदै खनालले कृषि क्षेत्रमा सरकारले लगानी बढाएमा केही हदसम्म आयातमा कमी आउने, डलर बचत हुने र रोजगारी सिर्जना हुने बताउनुभयो ।
‘कृषि र उत्पादनमूलक क्षेत्रमा सरकारले सस्तो दरमा ऋण दिनुपर्छ, कृषिमा सुधार भएमा हाम्रो खाद्य असुरक्षा पनि टर्छ र केही रोजगारी पनि सिर्जना हुनुपर्छ । त्यसैले सरकारले धेरै फोकस कृषि उत्पादन बढाउनमा केन्द्रित गर्नुपर्छ’, खनालले भन्नुभयो । आउँदो वर्षको बजेट पनि फजुल खर्च रोक्ने, खुद्रे आयोजनामा बजेट नदिने, चालु खर्च घटाउने र कोरोनाले ध्वस्त भएको अर्थतन्त्रलाई उकास्नेतर्फ केन्द्रित हुनुपर्ने पूर्व अर्थसचिव खनालको भनाइ छ । यस्तो बेला सरकारले चुस्त भएर काम गर्नुपर्नेमा त्यो नदेखिएको खनालले बताउनुभयो ।