डाक्टरमाथि कुटपिट प्रकरण : महाराजगञ्जका डीएसपी लम्साललाई जिम्मेवारीबाट हटाइयो……(भिडियो सहित)
महाराजगंजमा डाक्टरलाई कुटपिट भएपछि महानगरीय प्रहरी वृत महाराजगंजका प्रमुख डिएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ । महानगरीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक श्यामलाल ज्ञवालीले एक विज्ञाप्ति जारी गर्दै डीएसपी लम्साललाई जिम्मेवारीबाट हटाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी झिकाइएको जानकारी दिनुभएको छ ।
डिएसपी उमेश लम्साल
बुधबार साँझ ड्युटी सकेर घर फर्केने क्रममा त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालका डाक्टरहरु शम्भू खनाल, तेजप्रकाश साह र विकास साहलाई लकडाउन उल्लंघन गरेको भन्दै डिएसपी लम्सालसहितको प्रहरी टोलीले कुटपिट गरेको थियो । सोही विषयमा थप अनुसन्धानको लागि भन्दै डिएसपी लम्साललाई रानीपोखरी तानिएका हुन् ।
महानगरीय प्रहरी प्रवक्ता ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘उक्त घटनामा संलग्न रहेका महानगरीय प्रहरी वृत महाराजगंजका प्रमुख प्र,ना,उ. उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाई यस कार्यालय झिकाइएको साथै उक्त घटनामा संलग्न अन्य प्रहरी कर्मचारीलाई यस कार्यालयमा झिकाई आवश्यक छानबिन कार्य भइरहेको व्यहोरा समेत जानकारी गराइन्छ ।’
छानबिन गरी कारबाही गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै डाक्टरमाथि प्रहरीबाट भएको लाठीचार्ज र कुटपिटको विरोध गर्दै छानबिन र कारबाहीको माग गरेको छ ।
‘प्रहरीबाट चिकित्सकमाथि हातपात गर्ने, लाठीचार्ज गर्ने जस्तो अत्यन्तै अमानवीय क्रियाकलापप्रति संघ घोर भत्सर्ना र निन्दा गर्दछ’, संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अविलम्ब त्यस्ता प्रहरीहरुको छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दछ।‘ संघले सरकारलाई चैत २२ गतेको मन्त्रिपरिषद्को निर्णय सम्झाउँदै कारबाही नगरे देशभरको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने चेतावनी समेत दिएको छ।
सरकारले चैत २२ गते कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरुलाई विरोध गर्ने व्यक्तिलाई ड्युटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुनेसरहको कानुन बमोजिम कारबाही गर्ने निर्णय गरेको थियो।
एसएसपीको नेतृत्वमा छानबिन समिति गठन
उक्त प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण वज्राचार्यको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।
समितिमा अपराध महाशाखाका एसपी मुकेश सिंह र परिसर काठमाडौंका डीएपी होबिन्द्र बोगटी सदस्य छन् ।