Logo

सैनिक जवानले दिएको रगतले जोगियो गर्भवतीको ज्यान

नेपाली सेनाका तीन जवानले गरेको रक्तदानले गर्भवतीको ज्यान जोगिएको छ। डोटीको आदर्श गाउँपालिका–५ की २० वर्षीया मीना भाटको सेनाले दिएको रगतले ज्यान जोगिएको हो। डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा बुधबार भर्ना भएकी थिइन्। बच्चा जन्मनुअघि नै अत्यधिक रक्तश्राव भएपछि उनको ज्यान जोखिममा परेको थियो।रगत अभावमा छट्पटिरहेकी अवस्थामा बिहीबार बिहान रणबम गण दह, डडेल्धुराका सैनिक जवान कमलबहादुर अधिकारी, नेपाल थापा र केशवराज जोशीले तीन पोइन्ट रगत दान गरेका हुन्।

डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.जगदीशचन्द्र विष्टका अनुसार रक्तदानपछि उनको जटिल शल्यक्रियाबाट बच्चा जन्मिएको छ। अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राजन शाह, एनेस्थेसियोलोजी र क्रिटिकल केयर डा.शम्भु अधिकारी नेतृत्वको चिकित्सक टोलीले मीनाको शल्यक्रिया गरेर बच्चा निकालेको हो। ‘साल पाठेघरको मुखमा भएका कारण उनमा अत्यधिक रक्तश्राव भयो। अस्पतालमा उनलाई चाहिने जति रगत उपलब्ध थिएन।’ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शाहले भने, ‘राति सेनालाई गुहारेका थियौँ। उहाँहरू राति नै आउनुभयो। उहाँले दिएको रगतले हामी उनको ज्यान जोगाउन सफल भयौं।’

डा. शाहका अनुसार शिशुलाई विशेष नवजात शिशु सघन कक्ष (एसएनसीयू) मा राखिएको छ। अहिले आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्