इतिहासमा आज : सगरमाथा आरोहणको कालो दिन, हिमपहिरोमा १६ शेर्पाको मृत्यु !
आज १८ अप्रिल । ६ वर्षअघि आजैका दिन सगरमाथामा आएको डरलाग्दो हिमपहिरोमा पुरिएर १६ जना नेपाली पर्वतारोहण पथप्रदर्शकको मृत्यु भएको थियो । सगरमाथाको इतिहासमा मानिसको ज्यान लिने यो सबैभन्दा ठूलो दुर्घटना हो । बिहान झन्डै ६ बजेर ३० मिनेट जाँदा हिमपहिरो आएको थियो । यसले सबैभन्दा ठूलो असर झन्डै १९ हजार फिटस्थित ‘खुम्बु आइसफल’ मा पारेको थियो, जतिबेला शेर्पा पथप्रदर्शकहरु आरोहणमा आएका अन्य समुहका लागि आवश्यक तयारी गर्दै बसेका थिए ।
हिमपहिरो भनिए पनि यो अलिक फरक प्रकृतिको थियो । हिउँभन्दा पनि सगरमाथाको पश्चिमी भागबाट टुक्रिएको बरफका ठूला टुक्राहरु त्यहाँ खसेका थिए । ती बरफका टुक्राहरु ३४.५ मिनटरसम्म बाक्लो र १४.३ किलोग्रामसम्म तौल भएका थिए । यस दुर्घटनामा कुनै विदेशीको भने मृत्यु भएन, यसले शर्पाहरुले कसरी ज्यानको बाजी राखेर विदेशी आरोहीहरुलाई सहयोग गरिरहेका छन् भन्ने विषयलाई फेरि बहसमा ल्यायो ।
१३ जनाको शव दुई दिनपछि भेटिएको थियो भने ३ जनाको शव अझै फेला परेको छैन । मारिने मध्ये ५ जना डिस्कभरी च्यानलका लागि काम गरिरहेका थिए । जोबी ओग्विनले सगरमाथाबाट बेसजम्प गर्ने तयारीको सुटिङका लागि उनीहरु काम गर्दै थिए । घटनापछि २२ अप्रिलमा शेर्पाहरुले मृत्तकको सम्मानमा सन् २०१४ को बाँकीको सिजनमा काम नै नगर्ने घोषणा गरेका थिए ।
सन् १९७० अप्रिल ५ मा पनि खुम्बु आइसफलमा नै हिमपहिरोमा परी ६ जना शेर्पाहरुले ज्यान गुमाएका थिए । त्यतिबेला जापानी युचिरो मिउरामा आधारित द म्यान हु स्काइड डाउन एभरेस्ट नामक वृत्तचित्र निर्माण भइरहेको थियो ।
२०१४ अघि १९९६ मा एभरेस्टमा सबैभन्दा ठूलो दुर्घटना निम्तिएको थियो, हावाहुरीका कारण ८ जना आरोहीले एकैपटक ज्यान गुमाए भने एकै सिजनमा कुल १५ जनाको मृत्यु भयो ।
सन् १९५३ मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसयता २०१६ को डाटाअनुसार ४ हजार ४ सय ६९ ले सगरमाथा आरोहण गरिसकेका छन् । सन् १८६५ मा भूगर्भविद् जर्ज एभरेस्टको नामबाट बेलायतीहरुले सगरमाथाको नाम नै एभरेस्ट जुराएका थिए । यस हिमाललाई तिब्बतीहरु चोमोलुङ्मा भन्छन् ।
महत्वपूर्ण घटनाक्रम
सन् १९०२– अपराधी पहिचानका लागि डेनमार्कले सबैभन्दा पहिले फिंगरप्रिट दर्ता गर्न सुरु ग¥यो ।
सन् १९४८, नेदरल्यान्डको हेगमा इन्टरनेशनल कोर्ट अफ जस्टिस स्थापना ।
सन् १९५५ – विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टिनको ७६ वर्षको उमेरमा अमेरिकाको न्यु जर्सी, प्रिन्सटनस्थित एक अस्पतालमा निधन ।
सन् १९८० – बेलायतबाट जिम्बाबेलाई स्वतन्त्रता ।