हामीले ८० करोडको राहत बाँडिसकेका छौं, त्यो नाटक मञ्चन हो र ? प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले ८० करोड रुपैयाँ बराबरको राहत वितरण गरिसकेको बताएका छन् । कोरोना भाइरसको समयमा समस्यामा परेका नागरिकलाई मध्येनजर गर्दै सरकराले ८० करोड बराबरको राहत वितरण गरेकाे बताएका हुन् । उनले सोमबार पत्रकारहरुसँग कोरोनाको बारेमा कुराकानी गर्दै सरकारले देशभर साे रकमकाे राहत वितरण गरिसकेकाे बताएका हुन् । सरकारले सबै नागरिकसमक्ष राहत वितरण पुगाएको उनको भनाइ छ । ‘हामीले सबैसमक्ष राहत पुर्याएका छौं, हामीले राहतमा तलमाथि गरेका छैनौं, यसका लागि सरकार पूर्ण रुपले लागि रहेको छ,’उनले भने ।
कोरोना भाइरसको समयमा नागरिकलाई समस्या हुन नदिनका लागि विभिन्न ठाउँमा खरिद केन्द्र स्थापना गर्ने, इन्डक्सन चुलोलाई बढी जोड दिने र वस्तुको खरिद मूल्य बढ्न नदिने उनको भनाइ छ । उनले यो समयमा ६/७ लाख मानिस उपत्यका बाहिर बाहिर गएकोले र ग्याँसको खपत घटेकोले ग्यासको समस्या पनि नहुने बताए । ‘दैनिक उपभोग्य वस्तुमा कमि हुन दिन छैनौं, यो समय बाली भित्र्याउने समय भएकोल विकट क्षेत्रमा पनि खाद्यान्न अभाव हुने अवस्था छैन, कुनै पनि वस्तुको अभाव हुँदैन,’ उनले भने ।