Logo

विराटनगरबाट उद्धार गरिएका यात्रु थानकोटमा १० घण्टादेखि अलपत्र !

विराटनगर महानगरपालिकाले काठमाडौं पठाएका यात्रुहरु १० घण्टादेखि थानकोटमा अलपत्र परेका छन् । महानगरले अलपत्र परेकाहरुलाई सात वटा गाडीमा राखेर १६० जनालाई पठाएको थियो । आइतबार ३ बजेतिर गाडी चढेका उनीहरु विहान ५ बजेतिर थानकोट आइपुगेका थिए । ‘काम परेर जाँदा लकडाउनका कारण उतै थुनिएका थियौं । स्थानीय तहले पास बनाएर पठाएपछि आएका थियौं,’ थानकोटमा रोकिएका बनेपाका रमेश प्रसाईँले भने, ‘विहान ५ बजेदेखि यहाँ अलपत्र छौं ।’

उनीहरु चढेर आएका केही गाडी फर्किसकेका छन् । तर प्रहरीले यात्रुहरुलाई रोकेर राखेको छ । सोमबार विहानै केहीलाई नाम टिपेर छाडे पनि केहीलाई रोकिराखेको र हिँजोबाट केही खानसमेत नपाएको उनीहरुले बताएका छन् । विराटनगर, विर्तामोड र जाेमसाेमलगायत स्थानबाट आएका करिब २ सय यात्रुहरु अलपत्र परेका छन् ।

यात्रुहरुलाई रोक्न प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली, ट्राफिक प्रहरी प्रमुख भीम ढकाललगायत नागढुंगा, थानकोट लगायतका स्थानमा अवलोकन नाकामा पुगेका छन् । उनीहरुले यात्रुहरुलाई फर्काउन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन गरेको लकडाउनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई परिपत्र गरेको छ । एसएसपी ज्ञवालीले पास बिनाका कुनै पनि गाडि प्रवेश नदिने बताए । यहाँ आएका सबै गाडी फर्काउन भनिएकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्