हार्दिक बधाइ : अमेरिकन आइडल टप ७ मा पुगे नेपाली युवा दिवेश पोखरेल !
अमेरिकन आइडलको नयाँ अंक त्यहाँको ‘मदर्स डे’ विशेष रह्यो। प्राय प्रतियोगीहरु आमासहित प्रस्तुत भए। नेपाली मुलका प्रतियोगी दिवेश पोख्रेलले पनि आमा मैया पोख्रेललाई अगाडि राखेर प्रस्तुति दिए। उनले बन इभेरको ‘हे मा’ गाएका थिए। दिवेशले प्रस्तुति दिइसक्दा उनकी आमा बसिरहेको ठाउँबाट उठिन् र दिवेश छेउमा पुगेर अंगालो हालिन्।
वेबकल मार्फत् प्रस्तुति हेरिरहेकी निर्णायक लियोनेल रिचीले प्रतिक्रिया जनाउँदै भने, ‘तिमीले त फोनबुक पनि गाउन सक्छौ।’ उनले स्टेजको अर्थर गन लामो सांगितिक यात्रामा निस्किएको विश्वास व्यक्त गरे।
दिवेश आफ्ना आमाबुबा र दिदीहरुसँगै क्यान्ससको उचितामा बस्छन्। गत साता डिसी नेपालसँगको अन्तर्वातामा उनले भनेका थिए – ‘मेरा लागि जित्नुभन्दा पनि हजारौं मानिसबाट छानिएर यहाँसम्म आइपुग्नु महत्वपूर्ण कुरा हो। यति गर्न सकिँदो रहेछ भने अझै मिहेनत गर्न सकिन्छ भन्ने लागेको छ।’
बाल्यकालदेखि नै संगीतमा रुची राख्ने दिवेशले आफूलाई पहिलो गितार आमाले नै उपहार दिएको बताएका थिए। ‘निकै रहर थियो। गितार पाएपछि बजाउँदै गाउन सिक्न थालें। कोडहरु सिक्न सहयोग लिएँ,’ उनले भनेका छन्। विद्यालयका साथीहरुसँग ब्यान्ड बनाएर गाउँदै हिँडेको प्रसङ्ग पनि सुनाएका छन्। उनले नेपाल छँदा बार, पबहरुमा पनि साप्ताहिक प्रस्तुति दिएका रहेछन्।
‘अमेरिका आएपछि संगीतलाई धेरै समय दिन पाएँ। गीत, संगीत नै मेरो साथी बन्यो। सिक्न थालेंँ। आवाज बनाउन थालेँ,’ उक्त भिडियो अन्तर्वातामा भने। दिवेशले अमेरिकामा पनि कफी सपहरुमा गाउने काम गरेका थिए। उनी आफै गीतहरु लेख्छन्।
अमेरिकामा बनेको सांगीतिक साथीहरुले नै उनलाई अमेरिकन आइडलमा सहभागी हुन हौस्याएका थिए। भने,’ठूलो प्ल्याटफर्म हो एक पटक कोसिस गरौं न अनुभव हुन्छ भनेर भाग लिएको हुँ। यहाँसम्म आइपुग्छु भन्ने सोचेकै थिइँन।’ सन् २०१४ मा उच्च माध्यमिक तहको पढाई सकेर अमेरिका गएका उनका एल्बमहरु पनि सार्वजनिक छन्। ‘ग्रहण’ उनको पहिलो एल्बम हो। सन् २०१७ मा नेपाल आएर रेकर्ड गराएका थिए। उक्त एल्बममा ८ गीतहरु छन्। उनी कलंकीमा जन्मिएका हुन्।
सन् २०१९ मा पनि उनले ‘कर्णाली’, ‘म’, ‘खोज’ लगायत गीतहरु रेकर्ड गराएका छन्।
आइतबार उनी अमेरिकन आइडलको उत्कृष्ट ७ मध्ये एक प्रतियोगी बने। फेसबुकमा उनले लेखेका छन्,’अमेरिकन आइडलको नयाँ अंक सार्वजनिक भइसकेको छ। हेर्नुस् अनि पत्ता लगाउनुस् को को टप ७ मा परे।’
उनी फिनालेका लागि बलियो दाबेदार मानिएका छन्। उनीसँगै फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो, लुइस नाइट, जोनी वेस्ट, जस्ट साम, डिलोन जेम्स आगामी चरणका लागि छनौट भएका छन्।