जनकपुरः धनुषाको यी ३ ठाउँ शील, सबै पासहरु खारेज !
धनुषामा ४ जना कोरोना सँक्रमित भेटाएपछि प्रशासनले सँक्रमित चारै जनामध्ये ३ ठाउँलाई शील गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको जिल्ला विपद व्यवस्थापन समिति सहित जिल्ला प्रशासन कार्यालय धनुषाको बैठकले ३ ठाउँलाई शील गर्ने निर्णय गरिएको हो । मँगलबार(हिजो) धनुषामा ४ जना कोरोना सँक्रमित पुष्टि भएपछि सँक्रमण रोकथामको लागि सो निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) शरद पोखरेलका अनुसार जनकपुरको गँगासागर उत्तरपट्टिको घर सहित वरपरका घरहरु, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ पिडरियामाई स्थान नजिकको सँक्रमितको घर सहित वरिपरी र धनुषाको मिथिला नगरपालिकाको लागगढ माझीटोललाई शील गरिएको हो ।
धनुषाका २ जना र महोत्तरीका २ जनामा कोरोना सँक्रमण भेटाएको हो । महोत्तरीको भएपनि उनीहरु धनुषामै बस्दै आएको भन्दै धनुषामै ४ जना सँक्रमित भेटाएको सहायक प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार, सँक्रमित ४ जनामध्ये १ जना धनुषाको गँगुली क्वारेन्टाईनबाट रहेकोले क्वारेन्टाइन आफै सुरक्षित र शील क्षेत्र भएको बताउनुभयो ।
उहाँले शील गरिएको तीनै क्षेत्रमा बाहिरका मान्छेको आवत तथा त्यहाँबाट स्थानीयलाई बाहिर जाने पूर्ण रुपमा निषेध गरिएको छ । त्यसको लागि सुरक्षाकर्मी खटाइएको छ ।
पोखरेलका अनुसार, सँक्रमित व्यक्तिको सम्पूर्ण परिवारलाई सम्बन्धित ठाउँको क्वारेन्टाइनमा पठाइएको छ भने उनको सम्पर्कमा आएका बाहिरका व्यक्तिहरुलाई समेत ट्रयासिँग गरी स्वाब परीक्षण गरिने छ ।
अहिले सँक्रमित चारै जनाको परिवारका सदस्यहरुलाई पनि क्वारेन्टाइनमा पठाइएको बताउनुभएको छ ।
यसका साथै, उहाँले आजदेखि नै बाहिरी जिल्लाको पासहरु समेत रद्द भएको बताउनुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय धनुषाबाट वितरण भएको ई–पासहरु समेत सबै खारेज भएको निर्णय गरिएको बताउनुभएको छ ।
अत्यावश्यक सवारी बाहेक अन्य सबैको पास खारेज गरिएको जनाइएको छ । विकास निर्माणको कार्यमा चलाइने ट्रिपरहरु भने जिल्लाभित्र मात्र सँचालन गर्न दिने बताउनुभएको छ ।