लकडाउनमा कडाइ, यसअघिका सबै पास रद्ध !
जारी लकडाउनलाई सरकारले अझै कडाइ गर्ने भएको छ। लकडाउनलाई कडा बनाउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई निर्देशन दिइसकेको छ। यसअघि जारी गरेका सबै पासहरुलाई गृहमन्त्रालयले आजदेखि लागु हुनेगरि रद्ध गरिसकेको छ। ‘अब एउटा जिल्लाबाट अर्को जिल्लामा जानका लागि दिइएका पासहरु आजदेखि खारेज भएका छन्। अब नयाँ तरिकाले पास लिनुपर्नेछ’, गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले सेतोपाटीसँग भने, ‘अब गृहको निर्णयबिना एउटा जिल्लाबाट अर्को जिल्लामा जान पाइदैन।’
सह प्रवक्ता अधिकारीका अनुसार अब बिरामी भएका व्यक्ति र मृत्यु संस्कारमा जाने बाहेकका काममा एउटा जिल्लाबाट अर्को जिल्ला जान पाइनेछैन। एउटा जिल्लाबाट अर्को जिल्लामा जानबाट रोक्नैका लागि झन्झटिलो प्रक्रिया बनाइएको गृहको भनाइ छ। अब कोही बिरामी भएमा उसले चिकित्सकको सिफारिस रिपोर्ट लिएर प्रमुख जिल्ला अधिकारी(सिडिओ)कहाँ जानुपर्नेछ। सिडिओले त्यो सिफारिसलाई गृहमा पठाएपछि गृहले छानविन गरेर पास पठाएपछि मात्रै एउटा जिल्लाबाट अर्को जिल्लामा जान पाइन्छ। त्यस्तै मृत्यु संस्कारमा जान लागेको आवश्यक कागजात सिडिओलाई पेस गरेपछि सिडिओले त्यसलाई गृहमा पठाउनेछन् भने गृहले छानविन गरेर अनुमति दिएपछि मात्रै पास जारी हुन्छ।
‘हामीले लकडाउनलाई कडाई गर्न खोजेकै हो। त्यही भएर अब गृहको अनुमतिबिना एउटा जिल्लाबाट अर्को जिल्ला जाने पास नदिन भनिएको हो’, सहप्रवक्ता अधिकारीले भने, ‘संक्रमण फैलिदै गएको छ।यस्तोबेला सिडिओलाई दबाब दिएर हिडडुल गर्ने प्रवृत्तिलाई समेत रोक्न खोजिएको हो।’
काठमाडौं उपत्यकाभित्र भने अन्तरजिल्ला लागू नहुने गृहले जनाएको छ। उपत्याकाका तीन जिल्लामा पुरानै पासले काम गर्ने गृह सहप्रवक्ता अधिकारीले बताए। गृहले अत्यावश्यक क्षेत्रका सवारी साधनहरुका लागि भने अनुमति पत्र नचाहिने स्पष्ट पारेको छ। तर त्यस्ता ठाउँमा काम गर्नेहरुले सम्बन्धित संस्थाहरूको परिचयपत्र अनिवार्य बोक्नुपर्नेछ।
पत्रकारको हकमा भने सूचना विभागबाट जारी गरिएको अनुमति पत्र जरुरी पर्ने गृहले जनाएको छ।