पर्सामा अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई सुरक्षाकर्मीले गोली हान्न सक्ने….(भिडियो सहित)
पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीलाई गोली हान्न सक्ने अधिकार प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले उक्त निर्णय भएकाे पुष्टि गरेका छन् । बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालको शौचालयबाट दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए ।
पर्सा प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो । उक्त घटनालाई मध्यनजर गर्दै संकट व्यवस्थापन केन्द्र पर्साले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो ।
बैठकको निर्णय नं. ३ मा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि सुरक्षा निकायलाई गोली समेत चलाउन सक्ने अधिकारी प्रदान गर्ने ।’
बैठकले कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङका लागि जिल्ला स्वस्थ्य कार्यालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सम्बन्धित स्थानीय तहको प्रतिनिधि रहेको कार्यदल गठन गर्ने पनि निर्णय गरेको छ ।
उक्त बैठकको अध्यक्षता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले गरेका थिए भने बैठकमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा,प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर लगायत सहभागी रहेको थियो ।