Logo

नरभानेको अभिव्यक्तिप्रति नेपाली सेनाको जवाफ ‘उपयुक्त समयमा’ !

नेपालले लिपुलेकको मुद्दा अरु कुनै मुलुकको इशारामा उचालेको भनेर भारतीय सेना प्रमुख मनोज नरभानेले विवादास्पद अभिव्यक्ति दिएको विषयलाई नेपाली सेनाले ‘जानकारी’मा राखेको जनाएको छ । साथै, नेपाली सेनाले उपयुक्त समयमा नरभानेलाई जवाफ दिने पनि जंगीअड्डा स्रोतले जनाएको छ ।

नरभानेले शुक्रबार एक कार्यक्रममा बोल्दै भारतीय तीर्थयात्रीका लागि खनिएको बाटोमा कुनै पनि विवाद नरहेको पनि बताएका दाबी गरेका थिए । यस विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उपयुक्त मञ्चमा आधिकारिक धारणा व्यक्त गर्ने भनिएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले अनलाइनखबरसँग भनेका छन्, ‘आवश्यकता पर्दा नेपाली सेनाको आधिकारिक धारणा प्रधानसेनापतिले विधि सम्मत ढंगबाट उपयुक्त मञ्चमा व्यक्त गर्नुहुनेछ ।’ उपयुक्त मञ्च कुन हो भन्ने बारे भने पाण्डेले खुलाएका छैनन् ।

भारतले नेपाली भूमि अतिक्रमण गरेर दार्चुलामा सडक निर्माण गरेपछि नेपाली आक्रोशित छन् । प्रकरणपछि कालापानी नजिक सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ भने नेपाली सेनाले पनि रेकीका लागि एक विशेष टोली दार्चुला पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्