Logo

फेरी आयो दुखद : दाङ तुलसीपुरका कोरोना संक्रमित टिचिङ अस्पतालका स्वास्थ्यकर्मी !

दाङमा पहिलोपटक फेला परेका तीनजना कोरोना संक्रमितमध्ये एकजना काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा कार्यरत स्वास्थ्यकर्मी रहेको खुलेको छ । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका–७ घर भएका ३४ वर्षीय संक्रमित पुरुष काठमाडौंमै रहेको जानकारी दिए ।

उनलाई बिरामीको उपचार गर्ने क्रममा संक्रमण भएको अनुमान छ । यसअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी एक ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती बालिकाको सम्पर्कमा रहेका डाक्टर तथा नर्सहरुलाई आइसोलेसनमा राखिएको छ ।

https://www.youtube.com/watch?v=_FBX6I1MZgE&t=4s

स्वास्थ्य मन्त्रालयले शुक्रबार बेलुका निकालेको सूचनामा दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा एक जना र गढवा गाउँपालिका वडा नम्बर ४ र ५ मा दुई जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको उल्लेख छ ।

तुलसीपुरका व्यक्ति काठमाडौंमै रहेकाले उनलाई काठमाडौंमै गणना गर्नुपर्ने मेयर पाण्डेले बताए । उनको काठमाडौंमै भएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो ।

यसअघि रुपन्देही र पर्साका स्वास्थ्यकर्मीहरुमा पनि कोरोना पुष्टि भएको थियो ।

अन्य दुईजना संक्रमित व्यक्ति दाङको गढवा गाउँपालिका–४ र ५ वडाका  हुन् । उनीहरु भारतबाट घर फर्कने क्रममा कपिलवस्तुको कृष्णनगरको क्वारेन्टाइनमा बसेका थिए । तीन दिनअघि उनीहरु कृष्णनगरबाट गढवा उद्योग वाणिज्य संघको एम्बुलेन्सबाट गढवा पुगेर जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।

बिहीबार उनीहरुको स्वाव संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । प्रतिष्ठानमा पोजेटिभ देखिएपछि नेपालगन्जमा पुनः परीक्षण गर्दा पनि पोजेटिभ रिपोर्ट आएको हो ।

कृष्णनगरबाट गढवा जाँदा ती दुई जनासँगै एम्बुलेन्समा अन्य तीनजना पनि चढेका र एक जना कालाकाटे सशस्त्र प्रहरीको क्याम्पमा झरेको खुलेको छ । अरु चार जना सबै गढवा क्वारेन्टाइनमा गएका थिए । गढवाको क्वारेन्टाइनमा ७ जना भारतबाट आएका र एकजना बर्दियाका गरी ८ जना छन् ।

त्यसअघि भारत गोरखपुरको क्वारेन्टाइनमा पनि बसेको उनीहरुले बताएका छन् । उनीहरुसहित ९१ जनाको स्वाब परीक्षण गर्दा ८९ जनाको रिपोर्ट नेगेटिभ आएको र दुईजनामा कोरोना पोजटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

कोरोना संक्रमित दुईजनालाई दाङको बेलझुण्डीस्थित आयुर्वेद अस्पतालमा बनाइएको आइसोलेसन बेडमा राखेर उपचार गरिने छ ।

दाङका तीन जनासँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । सबैभन्दा धेरै कपिलवस्तुमा ३९ जना, बांकेमा ३३ जना, रुपन्देहीमा २८ जना, दाङमा ३ जना र बर्दिया तथा नवलपरासी पश्चिममा एक–एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीका एकजना भने निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्