रौतहटमा १० जना भारतबाट आएका संक्रमित…..(भिडियो सहित)
रौतहटमा आज (आइतबार) विहानै कोरोना संक्रमण पुष्टि भएका १० जना भारतबाट मजदुरी गरेर भर्खरै फर्किएकाहरु रहेको खुलेको छ । संक्रमित सबैलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको छ । आज विहान राजपुर नगरपालिका फरहदा निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय र इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनीहरु केही दिनअघि मात्रै भारतको मुम्बइ, गुजरातलगायतका ठाउँबाट आएको पाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन् ।
भारतबाट फर्केलगत्तै उनीहरुलाई सिधै क्वारेन्टाइनमा पठाइएको थियो । क्वारेन्टाइनमा रहेका उनीहरुको गत शुक्रबार स्वाबको नमूना संकलन गरेर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो ।
संक्रमित सबैलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको छ । उनीहरुलाई सीधै क्वारेन्टाइनमा लिइएकोले परिवार र समुदायमा संक्रमणको खतरा नरहेको तर पनि सावधानी अपनाइने प्रजिअ घिमिरले बताए । योसँगै रौतहटमा कोरोना संक्रमितको सङ्ख्या १३ पुगेको छ । रौतहटको इशनाथ, वृन्दावन र देवाही गोनाही नगरपालिकामा पहिले नै तीनजना संक्रमति फेला परेका थिए ।