Logo

निक्कै दुखद खबर: ड्युटी गर्दागर्दै लखरतान भएपछि सडकमै पल्टिन्छन् प्रहरी !

भारतबाट दिनहुँ सयौं नागरिक घर फर्किएपछि सुदुरपश्चिम प्रदेशस्थित डोटीका प्रहरीहरूले दैनिक १८ घन्टासम्म ड्युटीमा खटिनु परेको छ। भारतका विभिन्न ठाउँबाट कैलालीको गौरीफन्टा नाका हुँदै स्वदेश भित्रिएका नेपालीहरूलाई सम्बन्धित स्थानीय तह पठाउन डोटीका प्रहरी दिनरात खटेका छन्।डोटीका प्रहरी उपरीक्षक दीलिपसिंह देउवाले सेतोपाटीसँग कुराकानी गर्दै जिल्लामा प्रहरी संख्या कम हुँदा ड्युटी खटाउन समस्या भइरहेको बताए। ‘खाना खाने बेलाबाहेक अरू बेला ड्युटीका प्रहरीसँग भेट हुन्न,’ उनले भने, ‘१८ घन्टासम्म सडकमा प्रहरीले ड्युटी गर्नुपरेको छ।’

ड्युटीका कारण भोक, प्यास र थकानले प्रहरीहरू सडकमै सुतेका फोटा सार्वजनिक भएका छन्। ‘प्राय: रातमा मानिसहरू हाम्रो जिल्ला प्रवेश गर्छन्। उनीहरूलाई गाडीमा राखेर सम्बन्धित स्थानीय तहमा पठाउनुपर्छ। उनीहरूको विवरण राख्नेदेखि बसमा पनि प्रहरी नै राखेर सम्बन्धित ठाउँमा पठाउने गरेका छौं,’ उनले भने।

लामो समयसम्म निरन्तर ड्युटीका कारण थाकेका प्रहरीहरू सडकमा आराम गरेको उनले बताए। ‘मानिसहरू बोकेका बस नआउन्जेल प्रहरीहरूले सडकमै रेष्ट गरेका हुन्। सडकमै सुत्ने गरेको भने होइन,’ उनले सेतोपाटीसँग भने। प्रहरी संख्या कम हुँदा ड्युटी व्यवस्थापनमा समस्या झेल्नुपरेको उनले बताए।

‘भारतबाट मानिसहरू ठूलो संख्यामा फर्केका कारण प्रहरीले निरन्तर ड्युटी गर्नु परेको छ,’ उनले भने, ‘सधैंभरि यस्तो समस्या आउँदैन। एक सातादेखि लोड बढेको छ।’ क्वारेन्टाइनदेखि सडकमा यात्रु व्यवस्थापन गर्नेसम्मका जिम्मेवारी प्रहरीकोमा आइपरेपछि जनशक्ति अभाव भएको उनले बताए।

‘यहाँ ड्युटी मारामार छ,’ उनले भने, ‘एउटा वडामा एउटा क्वारेन्टाइनका हिसाबले प्रहरीहरू परिचालन गरेका थियौं। अहिले वडामै छ/सातवटा क्वारेन्टाइन छ। प्रहरी खटाउन नसक्ने अवस्था छ। कहाँ-कहाँ भ्याउने?’ जिल्लामा दुई सय ५० जना प्रहरी जनशक्ति रहेको उनले बताए। डोटीमा चार सयभन्दा बढी प्रहरी जनशक्ति दरबन्दी भए पनि रिक्त छ।

‘धेरै मानिस भएको ठाउँ दुई/तीन जना नभए एक जनाका दरले क्वारेन्टाइनमा प्रहरी ड्युटीमा खटाइएको छ,’ उनले भने। भारतबाट आउने मानिसको संख्या बढ्दै गए अब क्वारेन्टाइन व्यवस्थापन गर्न पनि समस्या हुने उनले बताए। ‘धनगढीबाट डोटीमा २०/२५ गाडीमा दिनकै मानिसहरू आइरहेका छन्। उनीहरूको विवरण राखेर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनसम्म पुर्‍याइराखेका छौं,’ उनले भने, ‘दिनमा हजार जनाभन्दा बढी मानिस जिल्ला प्रवेश गरेका छन्।

१८/२० घन्टासम्म प्रहरी सडकमा ड्युटीमा खटेको उनले जानकारी दिए।

‘थकाइ लागेर एक/डेढ घण्टा प्रहरी सडकमै रेष्ट गरेका छन्,’ उनले थपे।

जिल्लामा जनशक्ति कम भए पनि थप संख्या माग नगरिएको उनले बताए।

‘थप प्रहरी माग्न अहिले असम्भव छ,’ उनले भने, ‘कैलाली, कञ्चनपुरतिर झन् कोरोनाको धेरै समस्या छ। उतै जनशक्ति अभाव छ।’

धनगढी र महेन्द्रनगरमा थप मद्दतका लागि प्रहरी गण रहेको भन्दै उनले १४/१५ जना यसअघि नै ल्याएको पनि बताए।

‘कारागारमा रहेका प्रहरी जनशक्ति पनि त्यहाँ सुरक्षाको वैकल्पिक व्यवस्थापन मिलाएर निकाल्ने कुरा भइरहेको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्