बैतडीका पहिलाे काेरोना संक्रमित युवकले जिते काेराेना, डिस्चार्जलगत्तै कारागार चलान !


बैतडीका पहिलो कारोना संक्रमित युवक डिस्चार्ज भएका छन् । लगातार २ वटा रिपाेर्ट नेगेटिभ आएपछि उनी आज डिस्चार्ज भएका हुन् । जिल्ला प्रहरी कार्यालय, बैतडीको हिरासतमा रहेका डिलाशैनी गाउँपालिका- २ का २२ वर्षीय युवकमा यही जेठ ९ गते काेरोना संक्रमण पुष्टि भएको थियो । जिल्ला अस्पताल बैतडीको आइसोलेसन वार्डमा उपचाररत युवकको लगातार २ रिपाेर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका कोभिड- १९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिनुभयो ।

मंगलबार र बुधबार उनकाे पीसीआर रिपाेर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको जाेशीले बताउनुभयो । वैशाख १३ गते डिलाशैनी- २ कै स्थानीय किशोरीको हत्या आरोपमा वैशाख १५ गतेदेखि उनी प्रहरी हिरासतमा रहेका थिए । ती युवक गत चैत ६ गते भारतको दिल्लीबाट फर्किएका थिए ।

संक्रमित युवकसँग सम्पर्कमा आएका उनकी बहिनी, जिल्ला प्रहरी कार्यालयका प्रहरी, अदालतका कर्मचारी, स्वास्थ्यकर्मी लगायत ९६ जनाको पीसीआर रिपाेर्ट भने नेगेटिभ आएको थियो । यसैगरी उनीसँगै भारतबाट आएका र परिवारका अन्य सदस्यको पनि रिपाेर्ट नेगेटिभ आएको थियो । ती युवकलाई जिल्ला अदालत, बैतडीले पुर्पक्षका लगि कारागर चलान गर्न अादेश दिएकाेले डिस्चार्ज लगत्तै पुन: कारागार चलान गरिने बताइएकाे छ ।