क्वारेन्टिन बस्नेलाई भूमिहीनको उपहार दुना टपरी र तरकारी !


दाङको गढवा गाउँपालिका वडा नं. ५ स्थित चैनपुर विद्यालयको क्वारेन्टिनलाई भूमिहीनहरुले दुना टपरी सहयोग गरेका छन् । गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा सहयोग पुगोस् भनेर सोही पालिकाका भूमिहीनहरुले २ हजार ४ सय १० टपरी र ८ सय दुना निःशुल्क सहयोग गरेका हुन् । गाउँ भूमि अधिकार मञ्च गढवाका अध्यक्ष विष्णु चौधरीले भने, ‘यो कठिन समय हो । त्यसैले जसले जे सक्छ आफ्नो स्थानबाट त्यही सहयोग गर्नुपर्छ भन्ने लागेर हामीले दुना टपरी सहयोग गर्यौं ।’

भूमिहीनहरूले तरकारी पनि अहिले सस्तो मूल्यमा क्वारेन्टिनमा दिने गरेका छन् । चैनपुर क्वारेन्टिनमा ७२ जना छन् । दुना टपरी एक चोटी प्रयोग गरेर फ्याँकिने भएकाले संक्रमणको खतरा समेत कम हुने विश्वास छ । गढवा गाउँपालिकामा हालसम्म ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जेठ ११ गतेबाट संचालनमा आएको चैनपुर क्वारेन्टिनमा हाल खाद्यन्न अभाव भइरहेको छ । बजेट कम भएकाले खाद्यान्न जोहो गर्न मुश्किल भएको कुरा सार्वजनिक भएपछि भूमिहीनले लोखरपुर र प्रसियाको जग्गामा उत्पादन गरेको तरकारी पनि अहिले सस्तो मूल्यमा क्वारेन्टिनमा दिने गरेका छन् ।

भूमि कृषि अभियानका परिचालक तथा क्वारेन्टिन व्यवस्थापन समितिका सदस्य सुनिलकुमार चौधरी भन्छन्, ‘क्वारेन्टिन सुरुवात भएको पहिलो हप्ताबाट नै खाद्यान्न जोहो गर्न समस्या भइरहेको थियो । क्वारेन्टिनमा तरकारी नहुने, उता किसानको तरकारी नबिक्ने समस्या भएकोमा हाल गाउँपालिकाले किसानबाट तरकारी खरिद गरी उपलव्ध गराएको छ ।