Logo

स्याङ्जामा सुरक्षा व्यवस्थामा अझ थप कडाई, सार्वजनिक गाडीहरु नचल्ने

स्याङ्जाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ । जनताको सुरक्षामा खटिएका सुरक्षा निकाय प्रमुख नै कोरोना संक्रमित बनेपछि सुरक्षा व्यवस्था थप कडा पारिएको हो । हिजो मात्रै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुखलाई कोरोना पुष्टि भएको थियो । अहिलेसम्म स्याङ्जामा २१ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको छ ।

जिल्ला संक्रमणको दर थप बढ्न नदिन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अत्यावश्यक बाहेकका काममा नहिँड्न सर्वसाधारणलाई अनुरोध गरेको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिने बताए । ‘अत्यावश्यक बाहेकका कुनै पनि सेवा सञ्चालन नगरौं, अत्यावश्यक सेवा पनि नियन्त्रित रुपमा गरौं भनेका छौं,’ उनले भने, ‘सार्वजनिक यातायात नचलाउन व्यवसायीहरुलाई भनेका छौं । उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्सका माध्यमबाट व्यापारीहरुलाई पनि अनुरोध गरेका छौं ।’

संक्रमण फैलिन नदिनको लागि आवागमनमा रोक लगाइएको उनले बताए । संक्रमित सुरक्षाकर्मीको अहिले स्याङ्जाकै आइसोलेसन कक्षमा उपचार भइरहेको छ । संक्रमित सुरक्षाकर्मीको सम्पर्कमा आएकाहरुको पनि खोजी कार्य भइरहेको उनले जानकारी दिए । ९८ जना सुरक्षाकर्मीको स्वाब जाँचको लागि संकलन गरिएकोमा ६४ जनाको नतिजा आउन बाँकी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्