Logo

दुखद खबर:लेबनान विस्फोटमा मृत्यु हुनेको संख्या १०० नाघ्यो !

मंगलबार लेबनानको राजधानी बेरूतमा भएको भयानक विष्फोटमा हालसम्म १०० जना मारिएका छन्। अत्यधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदाममा विस्फोट हुँदा करिब ४ हजार बढी मानिस घाइते भएको बिबिसीले जनाएको छ।विस्फोटबाट नजिकका भवनहरूको सिसा फुट्नुका साथै भवनहरू ध्वस्त भएका समाचारमा जनाइएको छ।

लेबनानी सरकारी अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने जनाएका छन्। लेबनानका राष्ट्रपति मिचेल अउनले सो गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा-सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको बताउँदै सो लापरवाही अस्वीकार्य भएको बताएका छन्।घटनालाई लिएर उनले बुधबार मन्त्रिपरिषदको आपतकालीन बैठक डाकेका छन्। उनले दुई साता देशमा आपतकाल घोषणा गर्नुपर्ने बताएका छन्।

‘हामीले जे देख्यौं त्यो एकदमै ठूलो विनाश हो,’ लेबनान रेडक्रसका प्रमुख जर्ज केटानीले मायादिन नामको टेलिभिजनसँग भने, ‘त्यहाँ जताततै पीडित र घाइते छन्।’त्यसैगरी लेबनानका प्रधानमन्त्री हसन डायबले देशसमक्ष घटनामा जिम्मेवारलाई कठघरामा उभ्याइने बताएका छन्।यसमा जिम्मेवारहरूले यसको मूल्य तिर्नुपर्नेछ,’ राष्ट्रलाई टेलिभिजनमार्फत गरेको सम्बोधनमा उनले भने।उनले घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्