Logo

महानगरद्वारा बनस्थलीमा सात टहरा र तीन भर्‍याङ भत्काइयो

शनिबार काठमाडौं महानगरपालिकाले अवैधरूपले बनाइएका संरचना भत्काउने क्रममा बनस्थली चोकबाट ढुंगेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भर्‍याङ हटाएको छ।

गत मंगलबारदेखि महानगरपालिकाले नक्सा पासअनुरूप निर्माण नभएका र नक्सा पासअनुरूप निर्माण भए पनि सोहीअनुरूप प्रयोग नभएको संरचना अवैध भएको भन्दै त्यस्ता संरचना हटाउँदै आएको छ।

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार उक्त स्थानका अवैधरूपले बनाइएका सात टहरासहित सडकबाट नै घरमा राखेको तीनवटा भर्‍याङ भत्काइएको हो।

उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैधरूपले बनाइएका संरचना, काठमाडौं मलका अवैधरूपले बनाइएका संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको संरचना भत्काइएको छ।

दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन महानगर प्रमुख बालेन शाहले निर्देशन दिएका छन्। अवैधरुपले बनाइएका संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउने भन्दै महानगरले ३५ दिने सूचना जारी गरेको थियो। सार्वजनिक सूचना बेवास्ता गरेपछि अवैध संरचना हटाउन थालिएको हो।

अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने महानगरको विश्वास रहेको छ। नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचना अवैध ठहर गर्दै महानगरले भत्काउन थालेको हो। हाल बेसमेन्ट र भूमिगत पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको महानगरले जनाए।

प्रतिक्रिया दिनुहोस्