Logo

चिसो बढेपछि विद्यालयहरू बन्द

अत्यधिक चिसो बढ्नुका साथै शीतलहर समेत चल्न थालेपछि पर्सामा पालिकाहरूले विद्यालयमा बिदा दिन थालेका छन्। पोखरिया नगरपालिकाले सोमबारदेखि नै विद्यालय बन्द गरेको छ। 

पोखरिया नगरपालिकाको कार्यालयले सोमबार एक सार्वजनिक सूचना जारी गरेर पालिकामा रहेका विद्यालयहरूमा सोमबारदेखि शुक्रबारसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख विजय झाले बताए। यस्तै वीरगन्ज महानगरपालिकाले पनि महानगरमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरू मंगलबारदेखि शुक्रबारसम्म बन्द रहने जनाएको छ। सोमबार महानगरपालिकाले जारी गरेको सूचनामा प्रतिकुल मौसमका कारण बालबालिकालाई पठनपाठनमा असहज भएकाले हिउँदे बिदामा कट्टा हुने गरी पुस १९ देखि पुस २२ गतेसम्मका लागि विद्यालयहरूमा पठनपाठन स्थगित गर्ने निर्णय गरिएको उल्लेख छ।

यसैगरि पर्साकै जिराभवानी गाउँपालिकाले पनि चिसो बढेकाले चार दिन बिदा दिने निर्णय गरेको छ।गाउँपालिकाका शिक्षा अधिकृत शिवराज फुयालले पालिकाभित्रका संस्थागत, मदरसा तथा सामुदायिक विद्यालयहरूलाई आगामी शुक्रबारसम्म बिदा दिन अनुरोध गरेका छन्। सोमबार वीरगन्ज र यस आसपासको अधिकतम तापक्रम २२ र न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्